अन्तिम दिनसम्म कति पर्यो मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओमा आवेदन ?
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ आज अन्तिम दिनसम्म १ अर्ब ३० करोड ८९ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन ३१ गते साँझ ५ः०६ बजेसम्म ११ लाख ६८ हजार ४५६ जनाले १ करोड ३० लाख ८९ हजार ३५० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरेको हो ।
यसअघि नै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेसकेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर जारी गर्न लागेको हो । स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सेयरमा मध्ये बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यसैगरी कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । सो आईपीओमा न्यूनतम १० कित्ता अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
















