सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका, २० हजार कित्तासम्म भर्न पाइने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन ३२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो आइपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
सोमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ।
सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
















