“हिमालयन ८०–२०” को इकाईका लागि आवेदन दिने म्याद थप, अब भदौ १५ गतेसम्म भर्न पाइने
काठमाडौं । हिमालयन क्यापिटलले पहिलो पटक निष्कासन गरेको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ ।
गत बिहीबारदेखि निष्कासनमा ल्याएको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” मा अब भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
हिमालयन बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन गरेको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।
योजनाको लगानी व्यवस्थापन हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटलले गरेको छ । यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने क्यापिटलले जनाएको छ । यसका साथै बाँकी २० प्रतिशत बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालनगरि लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने क्यापिटले जनाएको छ ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ । यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ ।
सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक देशको अग्रणी वित्तिय संस्थामध्ये स्थापित हुन सफल रहेको छ ।
कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।
















