सूचना चुहावटको आरोपमा धितोपत्र बोर्डका केसीसंग स्पष्टीकरण माग, के होला कारबाही ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सूचना चुहावटको आरोपमा धितोपत्र बोर्डका केसीसंग स्पष्टीकरण माग, के होला कारबाही ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बोर्डका निर्णय तथा सूचनाहरू नियम विपरित चुहावट आरोपमा आफ्ना कर्मचारी माथि कारबाही गर्ने भएको छ । कारबाही अघि बढाउन केसीलाई स्पष्टीकरण सोधिएको हो ।

बोर्डले आफ्ना निर्णयहरू २४ घण्टासम्म सार्वजनिक नगर्ने कानुन बनाएको छ । तर, बोर्डका केही उच्च पदस्थ कर्मचारीले सूचना चुहावट गरेको आरोपमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको बोर्ड सम्बद्ध स्रोतले बतायो ।

बोर्डले उप–कार्यकारी निर्देशक रूपेश केसीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउन लागेको छ । बोर्डको निर्णयहरू चुहावट गरेको आरोपमा उनलाई सेबोनले कारबाही गर्न लागेको हो । ‘बोर्डका उप–कार्यकारी निर्देशक केसीले बोर्डका महत्वपुर्ण निर्णयहरू सञ्चालक समितिले निर्णय गर्नुपुर्व नै अनलाइन समाचारहरूमा चुहावट गरेको आरोप छ’, स्रोतले भन्यो, ‘यसमा थप अनुसन्धान गरेर हामी कारबाही प्रक्रिया अघि बढाउँदै छौँ ।’

केसीले आफ्ना अनुकूलका सञ्चारमाध्यम र व्यक्तिहरूलाई बोर्डको नियम विपरीत विभिन्न सूचना दिएको आरोप लागेको छ । बोर्डले विभिन्न ब्रोकर कम्पनीहरूलाई दिइने लाइसेन्स तथा अन्य ऐन तथा विनियमावलीका बारेमा भएका संवेदनशील एवम् गम्भीर निर्णयहरू चुहावट गरेको आरोप केसीमाथि लागेको छ ।

सेबोन सञ्चालक समिति बैठकको निर्णय २४ घण्टासम्म सार्वजनिक गर्न पाइँदैन । तर, केसीले २४ घण्टा नहुँदै विभिन्न सञ्चारमाध्यमलाई बोर्डको निर्णयबारे सूचना चुहाएको आरोप छ । स्रोतले भन्यो, ‘उनिबाट पटक पटक तोकिएको समय र नियम विपरीत सूचना चुहावट हुँदै आएको छ ।’

निर्णय तथा सूचना चुहावटले पुँजी बजार समेत प्रभावित हुने गरेको स्रोतको भनाइ छ । त्यसैले केसीलाई कारबाही गर्न लागिएको स्रोतको भनाइ छ । अब केही दिनमै स्पष्टीकरण केसीले बोर्ड समक्ष स्पष्टीकरण पेस गर्नेछन् । बोर्डको ऐन तथा नियमावलीमा नियम विपरित सूचना चुहाएमा ग्रेडिङ रोक्कादेखि अन्य महत्त्वपूर्ण कारबाही हुन सक्ने सेबोन स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्