इभिमय बन्यो यस वर्षको दसैंः प्राधिकरणको चार्जिङ स्टेसनमा एकैदिन २ हजार पटक चार्ज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेशनमा एकैदिन २ हजार पटक बढी विद्युतीय सवारी चार्ज भएका छन् ।
चार्जिङ स्टेशनबाट एकैदिन विद्युतीय सवारीले २ हजार पटक बढी सेवा लिएका हुन् । प्राधिकरणले २२ हजार युनिट विद्युत इलेक्ट्रिक सवारीलिाई बिक्री गरेको हो ।
यस वर्षको दसैं विद्युतीय सवारीमय भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भन्यो,–‘यस वर्षको दसैं विद्युतीय सवारीमय भएको छ । सडकमा हजारौं इभि चलिरहेका छन् । यति चाँडै एकदिनमै २२ हजार युनिट विद्युत इभिलाई बेचियला भन्ने लागेको थिएन ।’
यद्यपि, विद्युतीय सवारी सिस्टमका लागि नेपालमा धेरै कुरा गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । तर, पनि आम सर्वसाधारण नेपालीहरुको विद्युतीय सवारी प्रयोगमा बानि परेको देखिएको प्राधिकरणले बतायो । एकदिनमै २२ हजार विद्युत इभिमा खपत हुँदा करि २० हजार लिटर डिजेल–पेट्रोल बचेको छ । अर्थात् दैनिक रुपमा ३६ लाख रुपैयाँ बचत भएको प्राधिकरणको दावी छ ।

नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ ।
सरकारले चालु आव २०८०/८१ को बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्ने उल्लेख गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको संख्या वृद्धिमा थप योगदान गरेको छ ।विशेषगरि इभिमा अपरेशन लागत पनि कम लाग्ने भएकाले यस तर्फ आकर्षण बढेको व्यवसायीहरु बताउँछन् ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडी भन्दा कम खर्च लाग्ने, वातावरण अनुकुल र स्वास्थ्यका लागि समेत राम्रो हुने भएकाले विद्युतीय सवारी आम प्रयोगकर्ताको रोजाईमा परेको व्यवसायीहरुको भनाई छ । पेट्रोल, मर्मत, सर्भिसिंङ, क्लीच, गियर, मोविल लगायतको खर्च पनि बचत हुने र दीर्घकालिन सोच राख्नेका लागि विद्युतीय सवारी सस्तो हुने भएपछि यस तर्फ आकर्षण बढेको विज्ञहरुको भनाई छ ।
पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको बताइन्छ ।
नेपाल विद्युत प्राधिकरणले पनि विद्युतीय सवारी चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ । हाल प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माण सम्पन्न गरिसकेको छ । यसका साथै निजी क्षेत्रबाट पनि चार्जिङ्ग स्टेशन निर्माणका भईरहेका छन् ।













