कम प्रिमियममै सवारी कर्जा दिन थाले बैङ्कहरू, अब कुन बैङ्कबाट सस्तो ब्याजमा पाइन्छ अटो लोन ?
काठमाडौं । हाल बैङ्कहरूको औसत आधार दर (बेस रेट) एकल अङ्कमै छ । बैङ्कहरूको आधार दर घटेपछि कर्जाको ब्याजदर पनि घट्न थालेको छ ।
हाल बैङ्कहरूको औसत आधार दर ९ प्रतिशत छ । यसमा बैङ्कहरूले १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर सवारी कर्जा प्रवाह गरिरहेका छन् ।
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि बैङ्कहरूले कर्जा लगानीमा जोड दिएका छन् । यति बेला सस्तो ब्याजदरमा सवारी कर्जा बढाउन बैङ्कहरू लागि रहेको देखिन्छ ।
अहिले केही बैङ्कहरूले आधार दरमा १ प्रतिशत मात्रै प्रिमियम जोडेर कर्जा दिन थालेका छन् । यसअघि भने ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने गरेका थिए । त्यसका आधारमा सवारी कर्जा लिने ग्राहकले १५ प्रतिशतसम्म ब्याजदर तिर्नु परेको थियो । तर, अहिले भने सस्तो ब्याजमै सवारी कर्जा पाइने भएको छ। विशेषगरि बैङ्कहरूको बेसरेट घट्नु र राष्ट्र बैङ्कले कर्जा बढाउन ल्याएको लचिलो नीतिका कारण पनि सस्तो ब्याजमा ऋण पाइने भएको हो ।
अधिकांश बैङ्कहरूको न्यूनतम प्रिमियम जोडेर मात्रै सवारी कर्जा उपलब्ध गराउन थालेका हुन् । बेस रेटका आधारमा कतिपय बैङ्कले एकल अङ्कको ब्याजदरमै सवारी कर्जा दिने भएका हुन् । यद्यपि, यो विद्युतीय सवारीको हकमा रहेको बैङ्कहरूले जनाएका छन् । तर, पेट्रोलियम पदार्थबाट चल्ने सवारीका लागि भने बैङ्कहरूले फरक फरक ब्याजदर निर्धारण गरेका छन् ।
बैङ्कहरू पनि विद्युतीय सवारीमा कर्जा बढाउन प्राथमिकता दिइरहेको देखिन्छ । सञ्चालनमा रहेका बैङ्कहरूमध्ये सबैभन्दा सस्तो ब्याजमा राष्ट्रिय वाणिज्य बैङ्कबाट सवारी कर्जा पाउने देखिएको छ । हाल बैङ्कको आधार दर ८.६३ प्रतिशत रहेको छ । त्यसमा थप न्यूनतम १ प्रतिशतदेखि १.७५ प्रतिशतसम्म प्रिमियम जोडेर विद्युतीय सवारी खरिदका लागि कर्जा दिने बैङ्कले जनाएको छ ।
यस्तै, हाल नबिल बैङ्कको आधार दर ९.८५ प्रतिशत रहेको छ । यसमा ४ प्रतिशतसम्म प्रिमियम जोडेर सवारी कर्जा उपलब्ध गराउने भएको छ । यद्यपि, ५ देखि ७ वर्षसम्मको सवारी कर्जामा भने स्थिर ब्याजदर अर्थात् १०.९९ प्रतिशत कायम गरिएको बैङ्कले जनाएको छ ।
यता, प्रभु बैङ्कले पनि आधार दरमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर सवारी कर्जा उपलब्ध गराउने भएको छ । बैङ्कले पनि विशेष विद्युतीय सवारी कर्जामा फोकस गरेको पाइन्छ ।
यस्तै, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क र लक्ष्मी सनराइजले भने सवारी कर्जामा ५ प्रतिशत प्रिमियम थपिने जनाएका छन् । हाल ग्लोबलको आधार दर १०.०७ प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ९.९९ प्रतिशत र लक्ष्मी सनराइजको १०.७५ प्रतिशत रहेको छ । तर, ग्लोलब आइएमईले अवधिमा अनुसारको कर्जामा स्थिर ब्याज समेत निर्धारण गरेको छ । बैङ्कका अनुसार ५ वर्षसम्म स्थिर ब्याजदरमा १०.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउने भएको हो । यसका साथै ५ वर्षभन्दा माथिको अवधिका लागि भने १२.९९ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने बैङ्कले जनाएको छ ।
त्यसैगरि एनआईसी एशिया बैङ्कले भने स्थिर ब्याजदर अर्थात् १३.७६ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने भएको हो । हाल बैङ्कको आधार दर १०.७० प्रतिशत रहेको छ । यस्तै, आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर सवारी कर्जा दिने बैङ्कहरू क्रमशः सिद्धार्थ, सानिमा, कुमारी, सिटिजन, माछापुच्छ्रे बैङ्क रहेका छन् ।













