४ आश्विन २०८३, आइतबार

अन्तर्राष्ट्रिय फर्म तथा कम्पनीसँगको कारोबारका आधारमा २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न पाउने



काठमाडौं । अन्तर्राष्ट्रिय बिक्री कारोबार बापत अब २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न सकिने भएको छ ।

एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय फर्म, कम्पनीहरुसँगको कारोबारका आधारमा २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न पाउने व्यवस्था गरेको हो ।

नेपाली वा विदेशी नागरिकले नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका प्राप्त हुने रकम फिर्ता नहुने गरी विदेशी नागरिक वा कम्पनीबाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत वेनेफिसियरीको खातामा सिधै २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको हो । यसअघि भने यस्तो व्यवस्था दैनिक १५ लाखसम्म (एक पटक वा पटक पटक) को रहेको थियो ।

इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ र त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र यस विभागमा पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।