१६ श्रावण २०८३, शनिबार

सेयर बजारमा म्युचुअल फन्डहरुको बढ्दो आकर्षण: एकै महिना २ अर्बले बढाए लगानी, कसले कति गरे ?



काठमाडौं । म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका छन् । गत मंसिर महिनाको तुलनामा पुसमा फन्डहरुको लगानी ७.२१ प्रतिशत बढेको हो ।

संचालनमा रहेकामध्ये ४२ वटा फन्डहरुले सार्वजनिक गरेको पुस महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । एकै महिनामा फन्डहरुले सेयर बजारमा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँ लगानी गरेका हुन् । गत मंसिरमा फन्डहरुको सेयर बजारमा २७ अर्ब १० करोड ७८ लाख ८५ हजार रुपैयाँ लगानी गरेका थिए । तर, पुससम्म भने बढेर २९ अर्ब ६ करोड १८ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

वित्तीय विवरणअनुसार पुसमा पाँच वटा म्युचुअल फन्डहरुको सेयर बजारमा १ अर्ब माथि लगानी रहेको देखिन्छ । पुसमा सबैभन्दा धेरै एनआइबिएल सहभागिता फन्डको १ अर्ब ६७ करोड ३९ लाख ८३ हजार रुपैयाँ छ । यो फन्डले गत मंसिरको तुलनामा भने ६.६४ प्रतिशत लगानी सेयर बजारमा बढाएको हो ।

दोस्रो स्थानमा रहेको एनएमबि सरल बचत–ईको पनि १ अर्ब २१ करोड ४२ लाख ६५ हजार रुपैयाँ लगानी सेयर बजारमा छ । उक्त फन्डले गत मंसिरको तुलनामा फन्डको लगानी १०.५६ प्रतिशत बढाएको हो ।

यस्तै, सिद्धार्थ इक्विटी फन्डले १ अर्ब १३ करोड ६३ लाख ५५ हजार रुपैयाँ, सानिमा इक्विटी फन्डले १ अर्ब ८ करोड ३० लाख १० हजार र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड दोस्रोले १ अर्ब ३ करोड ९५ लाख २७ हजार रुपैयाँ लगानी सेयर बजारमा गरेका छन् ।
गत मंसिरको तुलनामा चार वटा फन्डहरुको सेयर बजारमा लगानी भने घटेको छ । समिक्षा अवधिमा कुमारी धनवृद्धि योजनाको ४.०३ प्रतिशत, कुमारी इक्विटी फन्डको ३.०६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फन्डको ०.१३, एनआइबिएल प्रगति फन्डको ३.२४, कुमारी सुनौलो लगानी योजनाको ७.०७ प्रतिशत लगानी घटेको छ। यी बाहेकका अन्य सबै फन्डहरुले भने गत पुसमा लगानी बढाएका हुन् ।

पुसमा सबैभन्दा कम एनआईसी एशिया डाइनामिक डेब्ट फन्डले गरेको छ। सो फन्डले पुस महिनामा १९ करोड ८६ लाख ९८ हजार रुपैयाँ मात्रै सेयर बजारमा लगानी गरेको छ । यद्यपि, गत मंसिरको तुलनामा भने यसको लगानी २१.५८ प्रतिशत बढेको हो ।

लगानी वृद्धिदरको आधारमा भने पहिलो सूचीमा हिमालयन ८०–२० रहेको छ । यो फन्डले पुस महिनामा सेयर बजारमा लगानी २४३.२१ प्रतिशत बढाएको छ । गत मंसिरमा फन्डले ८ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गरेको थियो । तर, पुसमा भने बढेर २९ करोड ५० लाख २७ हजार रुपैयाँ पुर्याएको छ ।

सेयर बजारमा कुन फन्डको लगानी कति ?