छुट्ला है आइएमई लाइफको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोही प्रस्ताव पारित गर्न जेठ २८ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् जेठ १४ गते सोमबार बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले यो वर्ष हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभामा संस्थापक सेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ । यसका साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।













