लगानी दशक घोषणा गर्न महासङ्घ अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाई लागु गर्न सरकारसँग आग्रह गरेका छन् ।
कोसी प्रदेश सरकारले पहिलो पटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन ।
उनले आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुनहरि वन, वातावरण र भूमि समेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राखे ।
यस्तै उनले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यकता रहेकोमा जोड दिए । “लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बिचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरणहरू छन् । सबै दलहरूले कम्तीमा अबको दश वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ । कानुनको अपव्याख्या गर्ने र एक अर्को कानुन बाझिने अवस्था अन्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ । ” उनले भने ।
अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणको विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यस पटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थान विन्दु बन्नुपर्ने विचार व्यक्त गरे ।
व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधारमा स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पुरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गरी फाइल लगानीकर्ता आफैले डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।













