ब्यापार युद्धकै बीच बैंक अफ इङ्गल्याण्डले घटायो ब्याजदर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ब्यापार युद्धकै बीच बैंक अफ इङ्गल्याण्डले घटायो ब्याजदर



काठमाडौं । बेलायतको मुद्रास्फीतिमा कमी आएको उल्लेख गर्दै बैंक अफ इङ्गल्याण्डले आफ्नो प्रमुख ब्याजदर २५ आधार विन्दुले कटौती गरेको छ।

त्यहाँ यसरी ब्याजदर कटौति हुने अपेक्षा व्यापक रूपमा गरिएको थियो । यो कदमले बेलायतमा ऋणको मुख्य लागत ४.२५ प्रतिशतमा झार्ने छ।

गत वर्ष अगस्टदेखि ब्याजदर घटाउन थालेयता यो केन्द्रीय बैंकले गरेको चौथो कटौती हो।

बेलायती केन्द्रीय बैंकले एक विज्ञप्तिमा भनेको छ,– विगत दुई वर्षमा मुद्रास्फीति घटाउने प्रयासमा ‘पर्याप्त प्रगति’ भएका कारण ब्याजदर घटाउने परिस्थिति बनेको छ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयात शुल्क बढाउने नीतिले हालैका हप्ताहरूमा व्यापार युद्ध सुरु गरेको छ । यससँगै ‘विश्वव्यापी व्यापार नीतिहरूको अनिश्चितता तीव्र भएको’ पनि बैंक अफ इङ्गल्याण्डले भनेको छ ।

यस अनिश्चितता र अमेरिकी आयात शुल्क घोषणाको परिणामस्वरूप विश्वव्यापी आर्थिक वृद्धि खुम्चने प्रक्षपणहरु भइरहेका छन् । यद्यपि बेलायतको आर्थिक वृद्धि र मुद्रास्फीतिमा पर्नसक्ने नकारात्मक प्रभाव ‘थोरै हुने’ सम्भावना रहेको त्यहाँको केन्द्रीय बैंकले भनेको छ ।

गत महिना भएका केही व्यावसायिक सर्वेक्षणहरुले बेलायतमा उत्पादन घटेर नोभेम्बर २०२२ पछिको सबैभन्दा कम स्तरमा झरेको देखाएका छन् । साथै ब्रिटेनले हालैमात्र भारतसँग खुला ब्यापार सम्झौता सम्पन्न गरेको छ भने अमेरिकाले पनि बेलायतसँग विस्तारित ब्यापार सम्झौता गर्ने घोषणा विहीबार गरेको छ । यसले ब्रिटिश अर्थतन्त्रलाई सहज बनाउने अनुमान त्यहाँका नीति निर्माताहरुको छ ।


प्रतिक्रिया दिनुहोस्