ट्रम्पले मस्कको नयाँ 'अमेरिका पार्टी'लाई हास्यास्पद किन भने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्पले मस्कको नयाँ ‘अमेरिका पार्टी’लाई हास्यास्पद किन भने ?



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूका पूर्वनजिकका सहयोगी एलन मस्कप्रति कडा टिप्पणी गरेका छन्। मस्कले नयाँ राजनीतिक दल ‘अमेरिका पार्टी’ गठनको घोषणा गरेपछि ट्रम्पले उक्त कदमलाई ‘हास्यास्पद’ भन्दै आलोचना गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तेस्रो पार्टी सुरु गर्नु नै गलत हो। अमेरिका दुई पार्टी प्रणालीमै चलेको छ, र यसमा नयाँ पार्टी थप्दा झन् भ्रम मात्र थपिन्छ।’

एलन मस्कले पछिल्ला हप्ताहरूदेखि सामाजिक सञ्जाल ‘एक्स’ मा नयाँ राजनीतिक शक्तिको संकेत दिँदै आएका थिए। अन्ततः उनले घोषणा गरेका छन् कि ‘अमेरिका पार्टी’ अब आधिकारिक रूपमा स्थापना भइसकेको छ। पार्टीको मुख्य उद्देश्य भनेको रिपब्लिकन र डेमोक्र्याटलाई मिलाएर बनेको ‘युनिपार्टी’ सन्तुलनमा ल्याउनु हो।

मस्क र ट्रम्प अतीतमा निकट सहयोगी थिए। मस्कले संघीय खर्च घटाउने उद्देश्यसहित गठन गरिएको डोगको नेतृत्वसमेत गरेका थिए। तर पछिल्ला महिनामा दुबैबीचको सम्बन्ध बिग्रँदै गएको देखिन्छ।

आइतबार ट्रम्पले आफ्नो प्लेटफर्म ‘ट्रुथ सोशल’ मा मस्कप्रति कडा टिप्पणी गर्दै मस्क पछिल्ला पाँच हप्तामा पूर्णरूपमा ‘अफ द रेल्स’ अर्थात् नियन्त्रण बाहिर गएकाे उल्लेख गरेका थिए ।

यस्तै ट्रम्पले विशेष रूपमा मस्कको इलेक्ट्रिक भेइकल म्यान्डेट प्रस्तावको आलोचना गरे। उनले भने, ‘त्यो प्रस्तावले छोटो समयमा सबैलाई जबर्जस्ती विद्युतीय सवारी किन्न बाध्य पार्ने थियो,’ जसलाई उनले शुरुदेखि अस्वीकार गर्दै आएका थिए।

राष्ट्रपतिले ४ जुलाईमा हस्ताक्षर गरेको नयाँ कर र खर्च योजनाले इलेक्ट्रिक सवारीमा दिइने कर छुट अन्त्य गरेको छ। सो योजनाले सीमामा सुरक्षा, रक्षा र ऊर्जा उत्पादनमा खर्च वृद्धि गरेको छ भने स्वास्थ्य र खाद्य सहायता कार्यक्रमहरूमा भने कटौती गरिएको छ।

यसैबीच, मस्कले भने कि उनको नयाँ पार्टीले आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवार उठाउन सक्ने भए पनि हालको ध्यान प्रतिनिधि सभा र सिनेट चुनावमा केन्द्रित रहने स्पष्ट पारेका छन्।

अहिलेको अवस्था हेर्दा, ट्रम्प र मस्कबीचको सम्बन्धमा आएको चिसोपनाले अमेरिकी राजनीति अझ तनावपूर्ण मोडतर्फ गइरहेको संकेत देखिन्छ।


प्रतिक्रिया दिनुहोस्