तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रस्ताव बोकेर पेरिस उडे पर्यटनमन्त्री
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन्।
उनकाे सचिवालयका अनुसार पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन्।
तिलौराकोट ऐतिहासिक रूपमा शाक्यराज्यको राजधानी रहनुका साथै बुद्धको बाल्यकालसँग जोडिएको स्थल भएकाले त्यसको पुरातात्त्विक र सांस्कृतिक महत्व अत्यन्तै उच्च मानिन्छ। स्थानीय स्तरमा लामो समयदेखि यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न माग गर्दै आइएको छ।
हाल युनेस्कोको विश्व सम्पदा समितिमा २१ सदस्य राष्ट्र रहेका छन्, जसमा भारत, जापान, कतार र कोरियाजस्ता एसियाली मुलुकहरूको प्रतिनिधित्व छ।













