व्यवसायमा सुधार गर्दै र्‍याडिसन होटल, अपार्टमेन्ट र थप कोठाका लागि १ अर्ब ८० करोड कर्जा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

व्यवसायमा सुधार गर्दै र्‍याडिसन होटल, अपार्टमेन्ट र थप कोठाका लागि १ अर्ब ८० करोड कर्जा



काठमाडौं । राजधनीको मुटु (लाजिम्पाट) मा बसेको र्‍याडिसन होटल फेरि लयमा फर्किँदैछ । केही वर्षअघिसम्म कोभिड र त्यसपछिको सुस्त पर्यटन चापसँग जुध्दै आएको यो पाँचतारे होटल अहिले व्यापार विस्तारको नयाँ यात्रामा उत्रिएको छ ।

एकातिर कोठाहरूको पुनःनिर्माण र स्तरोन्नति, अर्कोतिर अपार्टमेन्ट सेवाको सुरुवातले र्‍याडिसनको आम्दानीमा नयाँ आशा जगाएको छ ।

ओरियन्टल होटल्स लिमिटेड (ओएचएल) द्वारा सञ्चालित र्‍याडिसन होटलले सन् २०२५ को साढे आठ महिनामा ७६ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यसले होटलको पुनः व्यवसायिक गति लिएको देखिएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । यद्यपि, चालु वर्षको व्यापार तुलनात्मक रूपमा केही कम भए पनि बजार स्थिरता कायम रहनु सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

अपार्टमेन्ट सेवाबाट दीर्घकालीन आम्दानीको भरोसा, पूर्वाधारमा पुनः लगानी

र्‍याडिसन होटलले हालै ३० युनिट सर्भिस्ड अपार्टमेन्ट सञ्चालनमा ल्याएको छ । जसले कम्पनीको आम्दानीमा नयाँ सम्भावनाको ढोका खोलेको छ । सन् २०२५ को अप्रिलदेखि सुरु भएको यो सेवा दीर्घकालीन राजस्व वृद्धि र लगानी प्रतिफलका लागि महत्वपूर्ण बन्ने कम्पनीको अपेक्षा छ ।

कम्पनीले हाल २६० वटा कोठाहरू सञ्चालनमा ल्याइरहेको छ । जसमध्ये ४० कोठा सन् २०२३ मा रिनोभेसन गरिसकिएको छ । यता, थप ६० कोठा सन् २०२६ भित्र सुधार गर्ने योजना रहेको छ । पूर्वाधार सुधारका लागि कम्पनीले कर्जा लिएको छ । जसको क्रेडिट रेटिङसमेत गरिसकेको छ ।

कर्जा रेटिङ र वित्तीय तयारी

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ८० करोड ६० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ५५ करोड ४० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । यता, अल्पकालीन कर्जाका लागि भने २५ करोड २० लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । कर्जामार्फत कोठा सुधार, अपार्टमेन्ट सञ्चालन र अन्य पूर्वाधार विस्तारमा लगानी गरिने कम्पनीले जनाएको छ ।

अकुपेन्सी घटेपनि भविष्यप्रति आशावादी

हाल होटलको अकुपेन्सी दर ३६ प्रतिशत मा झरेको छ । जुन अघिल्लो वर्षको ४३ प्रतिशत भन्दा कम हो । बक्यौता असुलीमा ढिलाइ, प्रतिस्पर्धाको तीव्रता र नगद प्रवाहमा आएको दबाब यसमा मुख्य कारणका रूपमा देखिएको छ । हाल कम्पनीको ९७ प्रतिशत बक्यौता ६ महिनाभन्दा पुरानो अवस्थामा रहेको छ ।

स्थापना, स्वामित्व र फ्रेन्चाइज

ओएचएल सन् १९९४ मा निजी कम्पनीका रूपमा दर्ता भई, सन् १९९९ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो । यसको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छन् । बजारमा सक्रिय रूपमा कारोबार भइरहेको छ ।

करिब ६ हजार ५०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको होटल परिसर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोमिटर दूरीमा अवस्थित छ । होटल अन्तर्राष्ट्रिय र्‍याडिसन ग्रुप अफ होटल्सको फ्रेन्चाइज अन्तर्गत सञ्चालित छ । व्यवस्थापन कार्य होटल र्‍याडिसन काठमाडौंले नै गरिरहेको छ ।

राजधानीको प्रिमियम स्थानमा रहेको यो सम्पत्ति नेपाली पर्यटन उद्योगको एउटा मजबुत आधारका रूपमा पुनः स्थापित हुने संकेत देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्