व्यापारमा आक्रामक अम्बे स्टिल : ९ महिनामै ६ अर्ब २८ करोडको कारोबार
काठमाडौं । नेपालको इस्पात उद्योगमा अग्रणी मानिने अम्बे स्टिल ९ महिनामौ सवा ६ अर्ब बढीको व्यापार गरेको छ ।
आर्थिक उतारचढावबीच पनि कम्पनीले लगातार राम्रो प्रदर्शन गर्दै आइरहेको छ । जसले घरेलु उद्योगको सम्भावनालाई थप उजागर गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्ष २०२५ को ९ महिनामा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।
सन् २०२४ मा कम्पनीले ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार गर्न सफल भएको थियो । सन् २०२२ पछि मात्रै कम्पनीले ३३ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख र २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।
कम्पनीको नाफा मार्जिन पनि स्थिर देखिएको छ । चालू आवमा नाफा मार्जिन ९.४४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ९.३० प्रतिशत थियो ।
उत्पादन लागतमा आएको केही घटबढले नाफा मार्जिनमा सामान्य प्रभाव पारेको कम्पनीको भनाइ छ ।
आर्थिक वृद्धिको योजनासहित कम्पनीले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) ल्याउने तयारी गरिरहेको छ । उद्योग विस्तारको योजनासँगै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै गरेको अम्बे स्टिलले देशको पूर्वाधार तथा निर्माण क्षेत्रमा गुणस्तरीय इस्पात उत्पादनमार्फत योगदान पु¥याउँदै आएको छ ।
कम्पनीले कर्जाभन्दा स्वपुँजीलाई प्राथमिकता दिँदै लगानी बढाउने लक्ष्य राखेको छ ।
सन् २००७ मा स्थापना भएको अम्बे स्टिल, सन् २०२३ मा मात्र पब्लिक कम्पनीको रूपमा परिणत भएको हो । भैरहवामा रहेको यस इस्पात उद्योगले डण्डी, बिलेट, जीआई तार तथा ग्याबियन बक्स उत्पादन गर्दै आएको छ। हाल कम्पनीको वार्षिक उत्पादन क्षमता २ लाख ३८ हजार ४ सय मेट्रिक टन र ग्याबियन बक्सको उत्पादन ३ लाख वर्ग मिटर रहेको छ ।
‘अम्बे टीएमटी’ र ‘अम्बे जीआई’ ब्रान्डमार्फत उत्पादन तथा वितरण गर्दै आएको कम्पनीमा हाल शोभाकर न्यौपानेको २४ प्रतिशत, शिवाज न्यौपानेको १८ प्रतिशत, सज्जन अग्रवालको १२.५ प्रतिशत र शिवानी न्यौपानेको ११ प्रतिशत स्वामित्व रहेको छ।
साढे ६ अर्ब कर्जाका लागि रेटिङ
कम्पनीले साढे ६ अर्ब कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि गरी कुल ६ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको रेटिङ गराएको हो । यसमा दीर्घकालीन कर्जातर्फ २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ ४ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ छ ।













