एक वर्षको यात्रामा ‘दुसित प्रिन्सेस’ होटल : ४० करोडको व्यापार, ५३ प्रतिशत अकुपेन्सीको सफलता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक वर्षको यात्रामा ‘दुसित प्रिन्सेस’ होटल : ४० करोडको व्यापार, ५३ प्रतिशत अकुपेन्सीको सफलता



काठमाडौं । राजधानीको व्यस्त लाजिम्पाट क्षेत्रमा शान्त वातावरण र अन्तर्राष्ट्रिय आतिथ्यको संयोजन खोज्नेहरूको रोजाइ बनेको छ, ‘दुसित प्रिन्सेस’ होटल ।

सुरुमा थाइल्याण्डको स्वाद बोकेको होटल भनेर चासो राखिएको यो पाँचतारे होटल अब राजधानीको आतिथ्य उद्योगमै बलियो उपस्थितिको संकेत दिइरहेको छ ।

सन् २०२३ को जुलाईदेखि मात्र व्यवसायिक रूपमा ढोका खोलेको यस होटलले करिब एक वर्षमै ४० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।

प्रतिस्पर्धी होटल बजारमा नयाँ भए पनि, ‘दुसित प्रिन्सेस’ ले आफैंलाई सक्षम स्थापित गरिसकेको देखिन्छ । सञ्चालनको छोटो अवधिमै उल्लेखनीय आर्थिक कारोबार गर्न सफल भएको छ ।

सन् २०२४ को सुरुदेखि ११ महिनाभित्र होटलले झण्डै ४० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको ३३ करोड ८० लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो ।

‘ल्हासा इन्टरनेशनल प्रालि’को लगानीमा सञ्चालनमा आएको यस होटल सन् २०१३ मै दर्ता भए पनि वास्तविक सेवा भने सन् २०२३ को जुलाईदेखि मात्र शुरू भएको हो ।

सञ्चालनमा आएको पहिलो वर्षमै यस्तो व्यापारिक उचाइमा पुग्नु होटल उद्योगकै लागि सकारात्मक संकेतका रूपमा लिइएको छ ।

करिब २५ सय ५३ स्क्वार मिटर क्षेत्रफलमा फैलिएको यो होटलमा १०७ कोठाहरू छन्। होटलको अकुपेन्सी रेट (अतिथि बसाइको अनुपात) सन् २०२४ मा ३९ प्रतिशत थियो भने हाल सन् २०२५ को मध्यसम्म आइपुग्दा यो दर बढेर ५३ प्रतिशतमा पुगेको छ ।

होटलमा दोर्जे ग्याल्जेन लामाको ४९ प्रतिशत स्वामित्व रहेको छ ।

२ अर्ब कर्जाका लागि रेटिङ

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन ऋण प्रवाहका लागि २ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको क्रेडिट रेटिङ गराएको जनाएको छ ।

‘दुसित प्रिन्सेस’ थाईल्यान्डको अन्तर्राष्ट्रिय ब्रान्ड ‘दुसित ओभरसिज कम्पनी’ अन्तर्गत सञ्चालित हो ।

नेपालमा उक्त ब्रान्ड भित्र्याउने सम्झौता ल्हासा इन्टरनेशनलसँग भएको हो । हाल दुसित समूहले विश्वका १८ देशमा २ सय ९० होटल तथा भिल्लाहरूको सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्