व्यवसायको समस्या समाधान राज्य र निजी क्षेत्रको साझा जिम्मेवारी होः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री डा. दामोदर भण्डारीले व्यवसाय क्षेत्रका समस्याहरूको समाधान राज्य र निजी क्षेत्रको साझा उत्तरदायित्वबाट मात्र सम्भव हुने स्पष्ट पारेका छन्।
नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले नेपाली बजार, व्यवसाय वातावरण, नीतिगत चुनौती र समाधानका उपायबारे महत्वपूर्ण धारणा राखे।
मन्त्री भण्डारीले व्यवसायीहरू माझ राखेका विचारहरू आत्मस्वीकृति र सुधारको दिशामा केन्द्रित थिए। उनले प्रश्न गरे “आजको यो परिस्थिति किन बन्यो ? समस्या किन उठ्यो ? यसको समाधान के हुन सक्छ ?”
राज्य र व्यवसायी दुबै पक्षले आफू–आफ्ना कमजोरी हेरेर सुधारको मार्ग पहिल्याउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा मन्त्री भण्डारीले बजारमा देखिएको मूल्य अस्थिरता र अनियमितताप्रति चिन्ता व्यक्त गर्दै उपयुक्त बजार प्रणालीको आवश्यकता औंल्याए। उनले अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रणालीको कार्यान्वयनलाई बजार पारदर्शी र उपभोक्तामैत्री बनाउन सरकारले सुरु गरेको पहलको रूपमा व्याख्या गरे।
मन्त्री भण्डारीले विगतमा लागू भएको कालोबजारी नियन्त्रण ऐनप्रति आलोचना गर्दै यस्तो ऐनले व्यवसायीलाई २० प्रतिशतभन्दा बढी मुनाफा कमाउन रोक लगाउँछ, जुन आजको खुला बजार अर्थतन्त्रमा अव्यवहारिक भएके बताए ।
भण्डारीले व्यवसायीलाई आफ्नो उत्तरदायित्वप्रति गम्भीर हुन आग्रह गर्दै व्यवसायले मुनाफा कमाएपछि मात्र राज्यलाई कर दिने, विकासमा योगदान गर्ने र जनताको अपेक्षा पूरा गर्ने वातावरण बन्ने जिकिर गरे।
उनले राज्य र व्यवसायीबीचको सम्बन्धलाई प्रतिद्वन्द्वीताबाट सहकार्यमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।
“सरकार व्यवसायीको हो, जनताको पनि हो,” उनले भने, “हामी एक–अर्कालाई विरोधी हैन, सहयात्रीका रूपमा हेर्नुपर्छ।”
राज्यको नीति व्यवसायमैत्री हुनु जरूरी छ र त्यसका लागि व्यवसायीहरूले पनि आफूलाई उत्तरदायी पक्षको रूपमा प्रस्तुत गर्नुपर्ने उनकाे भनाइ छ।
कार्यक्रममा उनले अनुगमनका नाममा व्यवसायीलाई आतंकित बनाउन नहुने पनि बताए । अनुगमन जरूरी भए पनि जरिवानाले मात्र देश नचल्ने भन्दै उनले यस्तो प्रवृत्तिले व्यवसायमा अस्थिरता निम्त्याउँछ र दीर्घकालीन समाधानमा बाधा पुर्याउने बताए ।
भण्डारीले नेपालको पुँजी बजारको पछिल्लो प्रगतिलाई सकारात्मक संकेतको रूपमा लिँदै व्यवसाय विस्तार र निर्यात वृद्धिमा व्यवसायीहरूको योगदानको पनि प्रशंसा गरे।
कार्यक्रममा मन्त्री भण्डारीले व्यवसायमा देखिएका समस्या केवल आन्तरिक नभएर भूगोल, मौसम र सीमापार व्यापारसँग पनि सम्बन्धित रहेको उल्लेख गरे। उनले खुला सीमाबाट सस्तो आयात हुँदा नेपाली किसानको उत्पादन बजारविहीन बन्ने उदाहरण दिँदै भने, “नेपाली किसानको चैते धानले बजार पाउँदैन, तर भारतबाट ४० अर्बको धान आयात हुन्छ। यसले बजारलाई असन्तुलित बनाएको छ।”
उनले आयात, कस्टम र कर प्रणालीमा सुधारका लागि सरकार प्रयासरत रहेको भन्दै केही दिनअघि मात्रै राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, खाद्य तथा कृषि मन्त्रालयका अधिकारीहरूबीच अन्तर मन्त्रालय बैठक गरिएको स्पष्ट पारे ।
मन्त्री भण्डारीले व्यवसायीहरूलाई निष्कर्षमा पुग्नेगरी संयम र संवादको बाटो अँगाल्न आग्रह गरे। “समस्या समाधानको लागि हामी तयार छौं,” उनले भने, “शटर डाउन गरेर आउनुभएको छ भने समाधान लिएर जानुस्। तर त्यो समाधान दीर्घकालीन र संरचनागत हुनुपर्छ। त्यसका लागि समय तोकेर, टेबलमा बसेर, टाइमलाइनसहित समाधान निकाल्नुपर्छ।”













