पर्यटन पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक : मन्त्री पाण्डे
काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि नीजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने,‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि नीजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’
मन्त्री पाण्डेले मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै नीजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए ।
अर्थमन्त्रीले पर्यटनलाई थोरै महत्व दिएकोमा गुनासो गर्दै मन्त्री पाण्डेले भने,‘पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ । अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ । त्यसकारण सीमित स्रोतसाधनका बीच हामीले काम गर्ने प्रयासहरु गरिरहेका छौं ।’
मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्नुपर्ने समेत बताए ।
मन्त्री पाण्डेले देशभन्दा बाहिरको मानिस एकपटक आएपछि पटकपटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थपे,‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’
मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसलना प्रदान गर्न संघ सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।
‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरुको कथा हामीले सुनाउनुपर्छ र देखाउनुपर्छ’, उनले भने,‘हाम्रा कयौं पर्यटकीय गन्तव्यहरुको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्रा देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेका छौं ।’
सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पछिल्लो समय पर्यटकहरुको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे ।
उनले भने,‘पछिल्ला वर्षहरुमा पर्यटकको प्रवृत्ति बदलिएको छ । भएका गन्तव्यभन्दा आफैं गन्तव्य खोज्दै हिँड्ने पर्यटकहरुको संख्यामा विस्तारै वृद्धि भइरहेको छ ।’
सीईओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीतसंगीतका भिडियोहरुले पनि नेपालका पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार गरिरहेको बताए । उनले नेपालका गन्तव्यहरुको ब्राण्डिङ गरेर विदेशी पर्यटकहरुलाई नेपाल ल्याउने प्रबद्र्धनात्मक कामहरु गर्न सबै निकायसँग सहकार्य भइरहेको जानकारी दिए ।













