२४ भदौ २०८३, बुधबार

अग्नि ग्रुपद्वारा हेटौंडामा अत्याधुनिक लजिस्टिक्स सेन्टर उद्घाटनसँगै महिन्द्राका दुई नयाँ गाडी सार्वजनिक



काठमाडाैं । नेपालमा औद्योगिक पूर्वाधार विकासतर्फ उल्लेखनीय पाइला चाल्दै, अग्नि ग्रुपले हेटौंडामा अत्याधुनिक लजिस्टिक्स सेन्टरको उद्घाटन गरेको छ।

अग्नि लजिस्टिक्स प्रालि अन्तर्गत सञ्चालनमा आएको यो सुविधा बुधबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।

सोही अवसरमा, अग्नि इन्कर्पोरेटेडले दुई नयाँ महिन्द्रा सवारीसाधनहरू महिन्द्रा बोलेरो नियो एसयुभी र महिन्द्रा जीतो ईभी (डेलिभरी भ्यान र पिकअप भर्सनमा) पनि नेपाली बजारमा सार्वजनिक गरेकाे छ ।

अवसरमा हेटौंडा लजिस्टिक्स सेन्टरको स्मारक शिलालेख समेत अनावरण गरिएको थियो।

नयाँ महिन्द्रा बोलेरो नियोले नेपाली परिवार र व्यवसायिक प्रयोजनलाई ध्यानमा राखेर तयार गरिएको छ। महिन्द्राको तेस्रो पुस्ताको स्कार्पियो च्यासिसमा आधारित यो गाडीमा १४९३ सिसि क्षमताको mHawk100 BS6 इन्जिन, ७ सिट क्षमतासहितको विशाल ३८४ लिटरको बुट स्पेस, र प्रिमियम इटालियन लेदर इन्टेरियर रहेको छ।

त्यस्तै, महिन्द्रा जीतो ईभीलाई अन्तिम माइल डेलिभरी सेग्मेन्ट अन्तर्गत ल्याइएको हो। यो विद्युतीय गाडी दुई भर्सन, डेलिभरी भ्यान र पिकअपमा उपलब्ध छ, जसमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। एकपटक चार्ज गर्दा १६० किलोमिटरसम्म यात्रा गर्न सकिने क्षमता भएको जीतो ईभीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ब्याट्री वारन्टी रहेको छ।

आधुनिक लजिस्टिक्स पूर्वाधार

हेटौंडाको नयाँ सुविधा ३३,००० वर्गफुट क्षेत्रफलमा फैलिएको छ र २,२०० घनमिटरसम्मको भण्डारण क्षमता राख्दछ। यो सेन्टर काठमाडौं, भैरहवा र इटहरीस्थित अन्य तीन लजिस्टिक्स केन्द्रहरूसँग जडानमा रहेको छ। सबै केन्द्रहरू प्रमुख राजमार्ग र विमानस्थल नजिक राखिएका छन्, जसले व्यवसायहरूलाई प्रभावकारी ढुवानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

यी केन्द्रहरूमा आधुनिक पलेट पोजिसन, लङ-स्पान सेलबिङ सिस्टम, क्लाइमेट कन्ट्रोल्ड स्टोरेज, फोर्कलिफ्ट, पावर्ड प्यालेट ट्रक, फायर सेफ्टी उपकरण, २४-घण्टा सिसिटिभी निगरानी, र डिजिटल इन्वेन्टरी म्यानेजमेन्ट सिस्टम जडान गरिएको छ।

थर्ड पार्टी लजिस्टिक्स सेवा

अग्नि लजिस्टिक्सले भण्डारण बाहेक खरीद, भन्सार प्रक्रिया, विक्रेता समन्वय, आयात-निर्यात कागजात व्यवस्थापन, र देशव्यापी वितरण सेवा प्रदान गर्दछ। जिपिएस ट्र्याकिङ प्रणाली जडान भएका ट्रक, प्लेटफर्म ट्रक र पिकअपहरूबाट सेवा दिइन्छ। प्रत्येक माल डिस्प्याच अघि गुणस्तर जाँच गरिन्छ।

एकै छानामुनि अनेक सुविधा

नयाँ केन्द्रमा अन्य अग्नि ग्रुपका सेवा पनि समावेश छन् । अग्नि हायर पर्चेज मार्फत गाडी फाइनान्स, अग्नि इन्कर्पोरेटेड बाट महिन्द्राका एसयुभी तथा ईभी विक्री, अग्नि मोटो-इन्क बाट दुइपाङ्ग्रे सवारी विक्री, अग्नि इक्विपमेन्ट बाट निर्माण उपकरण उपलब्ध गराइन्छ।

साथै, बालाजु अटो वर्क्स बाट सर्भिस र स्पेयर पार्ट्स सेवा तथा अग्नि आस्था मार्फत प्रमाणित पुराना एसयुभी विक्री सेवा पनि उपलब्ध छ।

अग्नि लजिस्टिक्सले दक्षता, सुरक्षा र प्रविधिमैत्री सेवा प्रदान गर्दै नेपालको लजिस्टिक्स क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ।

हेटौंडा जस्तो आधुनिक केन्द्रको विकासले व्यवसायिक पूर्वाधार बलियो बनाउनुका साथै नेपालकै औद्योगिक प्रगति तर्फ ठूलो योगदान पुर्‍याउने अग्नि ग्रुपले जनाएकाे छ।