१६ कार्तिक २०८३, सोमबार

रुपन्देही–३ मा विकले उम्मेदवारी दिने: भैरहवालाई ‘क्रिप्टो भ्याली’ बनाउने मुख्य एजेन्डा



काठमाडौँ । युवा, फिल्म निर्माता तथा लेखक किरण विकले रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

उनले शुक्रबार एक पत्रकार सम्मेलनमार्फत आफूलाई वैकल्पिक र विवेकशील नेतृत्वका रूपमा प्रस्तुत गर्दै अर्थकेन्द्रित एजेन्डा सार्वजनिक गरेका हुन् ।

३१ वर्षीय विकले भैरहवालाई ‘क्रिप्टो भ्याली’ मा रूपान्तरण गर्ने दाबी गर्दै क्षेत्रीय आर्थिक रुपान्तरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

भौगोलिक रूपमा भारतसँग जोडिएको, व्यापारिक सम्भावनाले भरिएको यो क्षेत्रलाई ‘आर्थिक राजधानी’ बनाउने योजना उनले अघि सारेका छन् ।

उनका अनुसार डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवद्र्धन र विदेशी लगानी आकर्षणमार्फत स्थानीय अर्थतन्त्रलाई पुनर्संरचना गर्न सकिनेछ । विकको उम्मेदवारी विशेषगरी अर्थतन्त्र केन्द्रीत दृष्टिकोणले, परम्परागत राजनीतिमा एउटा फरक विकल्पका रूपमा हेरिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी विस्तार, सहरी पूर्वाधार विकास र न्यायसम्मत सहरीकरण उनको अभियानका अन्य आर्थिक एजेन्डा हुन् । उनले भने,‘अविकसित योजना र राजनीतिक अस्थिरताले भैरहवा र बुटवल जस्ता शहरी क्षेत्रहरूको आर्थिक सम्भावना थला परेको छ । अब स्थानीय तहबाटै आर्थिक निर्णयमा हस्तक्षेप गर्न सक्ने जनप्रतिनिधि आवश्यक छ।’

विकले सीमान्तकृत समुदायहरू-दलित, मधेसी, जनजाति, थारु, मुस्लिम र एलजिबिटीक्यू+ को आर्थिक समावेशीकरणमा बल दिने उल्लेख गरेका छन् । यसका लागि उनले उद्यमशीलता विकास, सीपमूलक तालिम, र वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा, कानुन र सहरी योजना सम्बन्धी पृष्ठभूमि रहेका विकको स्थायी ठेगाना बुटवल भए पनि, भैरहवामै उनले आफ्नो बाल्यकाल बिताएको बताए । ‘भैरहवाको अर्थतन्त्र केवल पारवहन नाका वा व्यापारिक केन्द्र भएर सीमित हुन हुँदैन, यो प्रविधि, नवप्रवर्तन र स्टार्टअपहरूको हब बन्न सक्छ’ उनले भने ।

उक्त निर्वाचन क्षेत्र राप्रपाका दीपक बोहोराको निधनपछि रिक्त भएको हो । निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ भने उम्मेदवारी दर्ता असोज २१ गते हुने तय भएको छ । यसबीच विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो तयारी तीव्र बनाएका छन् ।