नेपाल वायुसेवा निगममाथि निगरानी बढाउन विशेष अदालतको आदेश
काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार पुष्टि गर्दै विशेष अदालतले नेपाल वायुसेवा निगमलाई कडाइका साथ निगरानीमा राख्न सरकारलाई निर्देशन दिएको छ ।
अदालतले निगममा भएको अनियमितताले राष्ट्रिय प्रतिष्ठामा आघात पुगेको भन्दै स्रोतसाधन र दक्ष जनशक्ति व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराएको हो ।
अख्तियारले दायर गरेको मुद्दामा अदालतले ३२ मध्ये १० जनालाई मात्रै दोषी ठहर गरेको छ । दोषी ठहरिएकामा तत्कालीन पर्यटन सचिव शंकरप्रसाद अधिकारी, महाप्रवन्धक सुगतरत्न कंसाकार लगायत छन् । केहीलाई भने संलग्नता पुष्टि नहुँदा सफाइ दिइएको छ ।
अदालतले निगमलाई इमान्दारीपूर्वक सञ्चालन गर्न, परियोजनामा जवाफदेही बनाउँदै अघि बढ्न आग्रह गरेको छ ।















