११ श्रावण २०८३, सोमबार

नाइमा मोबिलिटी एक्स्पोमा इभी प्रतिस्पर्धा, ‘म्याक्सस मिफा-७’को धमाकेदार आगमनको तयारी



काठमाडौं । नेपालका अटोप्रेमीहरूका लागि साउनको महिना रोमाञ्चक हुँदै गएको छ । आउँदो साउन २१ गतेदेखि सुरु हुन लागेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा इभी प्रविधिको भव्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यो इभी भीडमा विशेष आकर्षण बन्ने तयारीमा रहेको छ, ‘म्याक्सस मिफा ७’, यो गाडी एक प्रिमियम सेग्मेन्टको इलेक्ट्रिक एमपीभी हो । जुन, नेपालमा पहिलोपटक सार्वजनिक गरिँदैछ ।

चिनियाँ अटो जायन्ट एसएआइसी मोटर कर्पोरेशन अन्तर्गतको विश्वव्यापी उपब्रान्डको यो फ्ल्यागशिप इलेक्ट्रिक ७–सीटर एमपीभी अब नेपाली सडकमा देखिन सकिनेछ । नेपालमा यसको आधिकारिक प्रस्तुति हिमालयन मोटरएक्स मार्फत हुने भएको छ, जसले विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय अटो ब्रान्डहरूलाई नेपाली बजारमा भित्र्याउँदै आएको छ ।

शक्ति र शैलीको संयोजन

म्याक्सस मिफा ७ मा ९० किलोवाट प्रति घण्टा क्षमताको ब्याट्री राखिएको छ, जसले डब्लूएलटीपि रेटिङ अनुसार ५७० देखि ६३५ किलोमिटरसम्मको दायरा प्रदान गर्छ । १८० किलोवाटको शक्तिशाली मोटरले सुसज्जित यो इभी सहरदेखि लामो यात्रासम्म सहजै पार गर्न सकिने कम्पनीको दावी छ ।

तेज गतिमा चार्ज हुने क्षमता पनि यसको अर्को विशेषता हो । १३० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा ३० मिनेटमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुग्छ, भने ११ किलोवाटको एसी चार्जिङ विकल्पले ८.५ घण्टामा ब्याट्री फुल चार्ज गर्न सक्छ ।

लक्जरी अनुभव, सुरक्षा सजगता

मिफा ७ को आन्तरिक सजावट तथा प्रविधिले आधुनिक यात्राको परिभाषा बदल्ने छ । डुअल १२.३ इन्चको डिजिटल डिस्प्ले, भेन्टिलेटेड र मसाज फङ्सनसहितका अगाडिका सिट, वायरलेस फोन चार्जर, प्यानोरामिक सनरुफ र दुबै छेउमा पावर स्लाइडिङ ढोकाले यो सवारीलाई ‘फ्यूचरिस्टिक फेमिली कार’ बनाएको छ ।

यसका साथै ३६०–डिग्री क्यामेरा, लेन किपिङ असिस्ट, एडाप्टिभ क्रूज कन्ट्रोल, र ब्लाइन्ड स्पट मोनिटरिङ जस्ता एडीएएस सुरक्षा विशेषताहरूले यसलाई यात्रामा विश्वासिलो बनाउँछन् ।

म्याक्सस मिफा ७ ले नेपालमा लक्जरी पारिवारिक इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । कम्पनीले यो गाडीको मूल्य ९५ लाखदेखि १ करोड २५ लाख रुपैयाँ हुने बताइएको छ।

नाइमा मोबिलिटी एक्स्पोको स्टेजमा यो गाडीको भव्य सार्वजनिक घोषणा हुँदैछ । इभी प्रविधिमा द्रुत संक्रमण भइरहेको यो समयमा मिफा ७ को आगमनले नेपाली उपभोक्तालाई नयाँ विकल्प मात्र होइन, नयाँ स्तरको अनुभव पनि दिने कम्पनीको दावी छ।