१६ कार्तिक २०८३, सोमबार

‘आरआर स्ववियु कप–२०८२’ : राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुँदै, विजेतालाई ३ लाख नगद पुरस्कार



काठमाडौं । ज्ञानको खोजीले कक्षा कोठामा दिशा पाउँछ । तर नेतृत्व, अनुशासन र सहकार्यको अभ्यास भने खेल मैदानमा निखारिन्छ ।

पढाइ मात्र हैन, विद्यार्थी जीवनमा खेलकुद पनि उस्तै महत्वपूर्ण छ भन्ने सन्देशसहित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसले विशेष खेलकुद महोत्सवको तयारी गरिरहेको छ, जहाँ क्याम्पस जीवनको शैक्षिक यात्रा र खेलकुदको जोश एकै ठाउँमा मिसिनेछ ।

‘सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔं’ भन्ने नारासहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), आरआर क्याम्पस कमिटीले राष्ट्रिय स्तरको भव्य अन्तर क्याम्पस पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । ‘आरआर स्ववियु कप–२०८२’ शीर्षकमा आयोजना हुने यो प्रतियोगिता भदौ २२ गतेदेखि २७ गतेसम्म आरआरको प्राङ्गणमा हुनेछ, जसमा देशभरका विभिन्न क्याम्पसहरूबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।

खेलकुदमार्फत विद्यार्थीहरूमा पारस्परिक समझदारी, आत्मअनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय एकताको भावना विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । यस प्रतियोगिता केवल ट्रफी र नगद पुरस्कारका लागि हैन, भविष्यका जिम्मेवार नागरिकहरू निर्माण गर्ने यात्राको एउटा पाइलो पनि हो ।

६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी दिए ।

उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्य हाम्रो हो । यो प्रतियोगितामा देशभरबाट सहभागि हुने अपेक्षा गरेको छु ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए । ‘विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’ उनले भने ।

आरआर स्ववियु कप–२०८२ का लागि सहभागी टोलीहरूलाई २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । इच्छुक टोलीहरूले आयोजकसँग सम्पर्क गर्न सक्नेछन् ।

विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजेको भन्दै सबै क्याम्पसका विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गरिएको स्ववियु सचिव शैलेन्द्र उपाध्यायले बताए ।

उनले भने, ‘छात्रहरूले पढाइसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने विश्वासका साथ आयोजना गरिएको हो । यस प्रतियोगिता सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोगको अपिल गर्दछु ।’