१६ कार्तिक २०८३, सोमबार

प्राधिकरणको स्पष्टिकरण : ‘लोडसेडिङ् होइन, अस्थायी प्राविधिक व्यवस्थापन मात्र हो’



काठमाडौं । चनौली वितरण केन्द्रको लोड व्यवस्थापन सम्बन्धी सार्वजनिक गरिएको तालिकालाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको अन्योलप्रति नेपाल विद्युत प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणका अनुसार चनौली ३३/११ के.भी. सवस्टेशनमा न्यू भरतपुर (बसेनी) सवस्टेशनबाट आउने लाइनमा अत्यधिक लोडको कारण समस्या देखिएको हो । यो समस्या समाधानका लागि बसेनी १३२ के.भी. सवस्टेशनदेखि चनौलीसम्म नयाँ ३३ के.भी. लाइन निर्माण अन्तिम चरणमा रहेको जानकारी दिइएको छ ।

हालको सिंचाइ लोड व्यवस्थापन गर्न लाइन तथा ट्रान्सफर्मर अदली–बदली गर्दा अस्थायी रूपमा लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

‘लोडसेडिङ तालिका’ भनेर समाचार सम्प्रेषण गर्नु भ्रामक र अनुचित रहेको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ । यो समस्या केवल प्राविधिक भएको र दुई तीन दिनभित्र समाधान हुने बताउँदै उपभोक्तालाई धैर्य र सहकार्यका लागि आग्रह गरेको छ ।

लोडसेडिङ नेपालका लागि इतिहास बनिसकेको भन्दै गलत आशयका प्रचारप्रति सावधानी अपनाउन अनुरोध गरेको छ ।