कमलादीको ‘स्काई वाक टावर’ अब ‘एक्स्ट्रीम एड्भेञ्चर जोन’ बन्दै, बन्जीदेखि जीपलाइनसम्म…
काठमाडौं । राजधानीको कमलादी स्थित ७५ मिटर अग्लो स्काई वाक टावरमा पुग्दा अब पर्यटकले केवल दृश्यावलोकनमा मात्र सीमित रहनुपर्ने छैन । आगामी दिनमा साहसिक खेलहरूको रोमाञ्चक अनुभव पनि लिन सकिने भएको छ ।
काठमाडौंको मध्य भागमा अवस्थित यो टावरलाई थप साहसिक बनाउँदै वोन्डर्स नेपाल प्रालि यति बेला नयाँ खेल र संरचनाहरूको निर्माणमा जुटेको छ ।
कम्पनीले स्काई वाक टावरलाई एक ‘एक्स्ट्रीम एड्भेञ्चर जोन’ का रूपमा विस्तार गर्न ७ करोड रुपैयाँ बराबरको पूरक लगानी योजना अघि सारेको छ ।
हालै कम्पनीले नयाँ पूर्वाधार निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेश गरिसकेको छ ।
२० प्रकारका साहसिक खेल, राजधानीमै पहिलो पटक
योजनाअनुसार स्काई वाक टावरमा २० प्रकारकार साहसिक खेल समावेश हुनेछन् । कम्पननीका अनुसार बन्जी जम्प, स्काई साइकलिङ, जीपलाइन, ह्यामक राइड, एज वाक, स्काई चेयर, फ्रिफल जम्प, क्लाइम्बिङ, स्वीङ–३६० र रिभर्स बन्जीजस्ता २० भन्दा बढी साहसिक गतिविधिहरू समावेश हुनेछन् ।
विशेष आकर्षणहरूमा २०० मिटरको जीपलाइन, १५० मिटरको ह्यामक राइड, फूल ग्लास सेल्फी डेक, स्नो रूम र हाई रोप कोर्स पनि रहनेछन् ।
यो आयोजना काठमाडौंमा पहिलो पटक ल्याइने केही गतिविधिहरूले विशेष ध्यान खिच्नेछ । राजधानीमै पहिलो पटक अग्लो टावरबाट फ्रिफल जम्प र रिभर्स बन्जी सञ्चालनमा आउनेछ । यस्ता खेलहरू अहिलेसम्म मुख्यतया पोखरा, कुश्मा र अन्य विदेशी गन्तव्यहरूमा मात्र उपलब्ध थिए ।
आर्थिक, सामाजिक र पर्यटन दृष्टिले योगदान
प्रतिवेदन अनुसार नयाँ संरचनाहरू सञ्चालनमा आएपछि दैनिक ५०० पर्यटकसम्म आकर्षित हुने अनुमान गरिएको छ ।
हालको औसत आगन्तुक संख्या २००–२५० छ । यसको तुलनामा दुई गुणाभन्दा बढी आगन्तुक आउने अपेक्षा छ, जसले काठमाडौं भित्रको पर्यटन चक्रमा ठुलो चहलपहल ल्याउनेछ ।
योजना अनुसार स्काई वाक क्षेत्र १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्किङ, क्यू लाइन, क्याफे, पर्यटक प्रतीक्षालय लगायत आवश्यक पूर्वाधार पनि समावेश गरिनेछ ।
कुल लगानी ८९ करोड पुग्ने, पर्यावरणीय पक्षमा सावधानी र न्यून प्रभाव
वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनले परियोजनाबाट उत्पन्न हुन सक्ने असरहरू मुख्यतः अस्थायी प्रकृतिका हुने देखाएको छ ।
ध्वनि प्रदूषण, जमिनको कम्पन, ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई न्यूनीकरण गर्न स्पष्ट कार्ययोजना तयार गरिएको छ ।
परियोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ र नियमावली २०७७ अनुसार पूरक अध्ययन गरिएका हो ।
टावर निर्माणको प्रारम्भिक चरणमा ८२ करोड रुपैयाँ लगानी भइसकेकोमा अब थप लगानीसहित आयोजना ८९ करोड रुपैयाँ बराबर पुग्नेछ । यो नेपालमै निजी क्षेत्रबाट गरिएको एक अग्रगामी सहरी मनोरञ्जन परियोजनाका रूपमा लिइएको छ ।













