विद्युत समस्या बुझ्न कार्यकारी निर्देशक शाक्य चितवनमा, समाधान गर्न प्राविधिक कार्य तीव्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य चितवन पुगेका छन् ।
पछिल्ला दिनमा विद्युत लोड व्यवस्थापन बारे चनौली वितरण केन्द्रबाट जारी गरिएको सूचनाले उपभोक्तामाझ उत्पन्न भ्रम र असन्तोषलाई मध्यनजर गर्दै उनी चितवन पुगेका हुन् ।
चनौली वितरण केन्द्रले साउन ११ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकालाई लिएर उक्त भ्रम देखिएको हो ।
अत्यावश्यक मर्मत कार्यका लागि एक दिनका लागि तालिका प्रकाशित गरिएको भएपनि सामाजिक सञ्जालमा यसलाई अतिरञ्जित ढंगले प्रचार गरिएको प्राधिकरणले जनाएको छ ।
विद्युत आपूर्तिमा देखिएको समस्याबारे प्रत्यक्ष जानकारी लिन तथा आवश्यक संरचनागत मर्मत कार्यको निरीक्षण गर्न कार्यकारी निर्देशक शाक्यसँगै वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दिर्घायु श्रेष्ठ नेतृत्वको टोली भरतपुर पुगेको हो ।
टोलीले भरतपुरस्थित सबस्टेशनहरू, वितरण केन्द्रहरू तथा विद्युतीय संरचनाहरूको अनुगमन गरिरहेको छ । चनौली क्षेत्रमा अत्यधिक लोडका कारण समस्या आएको भन्दै समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्राविधिक कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले उपभोक्ताहरूलाई अनावश्यक भ्रममा नपर्न र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ ।















