बाढी-पहिरोबाट विभिन्न सात ठाउँका सडक पूर्णरुपमा अवरुद्ध, पाँच स्थानमा एकतर्फी सञ्चालन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बाढी-पहिरोबाट विभिन्न सात ठाउँका सडक पूर्णरुपमा अवरुद्ध, पाँच स्थानमा एकतर्फी सञ्चालन



काठमाडाैं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सात प्रमुख सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीको ताजा विवरणअनुसार नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जाजरकोटमा गएरातिदेखि पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएका हुन्, भने अन्य तीन स्थानमा पहिल्यैदेखि अवरुद्ध सडक अझै खुल्न सकेका छैनन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा खसेको पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध बनाएको छ।

यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–५ चालिसेमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग बन्द भएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा खसेको पहिरोले पासाङ ल्हामु सडक पूर्णरूपमा ठप्प पारेको छ।

यसैगरी, संखुवासभाको भोटखोला गाउँपालिका–८, अरुण क्षेत्रमा कोशी राजमार्ग पूर्ण अवरुद्ध छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित भेरी कोरिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिका–६ मा पर्ने कर्णाली कोरिडोर सडक र जाजरकोटको छेडागाड नगरपालिका–३ मा रहेको मध्यपहाडी राजमार्ग पनि पहिरोका कारण सञ्चालनमा आउन सकेका छैनन्।

यस्तै काठमाडौं–नुवाकोट सडकखण्ड अन्तर्गत काठमाण्डौको टोखा नगरपालिका–२ क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालनमा छ भने बागलुङको वडा नं १० हल्लनचौर क्षेत्र, कालीगण्डकी कोरिडोर मा एकतर्फी सवारी चलिरहेको छ।

यस्तै नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–३ तरस्कोटामा रहेको कालीगण्डकी कोरिडोर सडक,मुस्ताङको थासाङ गाउँपालिका–४ जोमसोम–घोप्टेभिर खण्ड, बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामीन सडक, शहीद राजमार्गमा पनि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएकाे छ।

नेपाल प्रहरीले यात्रु र सवारी चालकहरूलाई प्रभावित क्षेत्रतर्फ जानुअघि अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिएको छ। पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। साथै, सडक अवस्थाबारे थप जानकारी नेपाल प्रहरीको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ। यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्