नयाँ पर्यटन नीति सार्वजनिक, नेपाललाई विश्वमै विशिष्ट गन्तव्य बनाउने लक्ष्य
काठमाडौँ । सरकारले देशको पर्यटन क्षेत्रको समग्र विकास र प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत नीति सार्वजनिक गरेका हुन् ।
मन्त्री पाण्डेका अनुसार नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिले विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नीति ल्याइएको हो । उनले कार्यान्वयनका क्रममा देखिने चुनौतीहरूलाई समयसापेक्ष समेट्दै नीति परिमार्जन गर्न सकिने बताए ।
संघीय संरचनालाई प्रभावकारी बनाउन समन्वय परिषद् गठन भइसकेको र तीन वटा बैठक पनि सम्पन्न भएको जानकारी दिँदै मन्त्री पाण्डेले कार्यनीति र रणनीति निर्माणको प्रक्रिया अघि बढिरहेको बताए ।
भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी मुलुकहरूसँग सिधा हवाई सम्पर्क विस्तार गर्नेसम्बन्धी कार्ययोजना पनि सरकारले अघि बढाइरहेको छ । मन्त्रालयले मातहतका निकायहरूको एकीकरणपछिको कानुनी चुनौती समाधान गर्न आवश्यक ऐन निर्माणमा काम गरिरहेको छ ।













