आईएसआईएन प्रस्तावप्रति इप्पानको आपत्ति, लगानी र पुँजीबजारमा नकारात्मक असर पर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले अघि सारेको संस्थापक सेयर छुट्टै आईएसआईएन नम्बर दिने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएको छ ।
सो प्रस्तावले निजी क्षेत्र, विदेशी लगानीकर्ता र सर्वसाधारण लगानीकर्तामा अन्यौलता र निराशा फैलाएको इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘यो प्रस्तावले ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी संकुचित बनाउनेछ’, विज्ञप्तिमा भनिएको छ,‘सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य समेत संकटमा पर्न सक्छ ।’
इप्पानले सिडिएससीको प्रस्तावले वर्तमान कानून, अन्तर्राष्ट्रिय अभ्यास र लगानीमैत्री वातावरणविपरीत रहेको जनाउँदै यसले नेपालमा वैदेशिक लगानीसमेत प्रभावित हुने चेतावनी दिएको छ ।
लकिङ पेरियड, लाभांश, मूल्य र अधिकार समान रहेको सेयरलाई फरक आईएसआईएन दिने प्रस्तावलाई अवैधानिक भन्दै तत्काल फिर्ता लिन इप्पानको आग्रह छ ।
इप्पानले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसँग प्रस्ताव कार्यान्वयन नगर्न र सबै सेयर एउटै आईएसआईएनमा अभौतिकरण गर्ने व्यवस्था यथास्थितिमा राख्न जोडदार माग गरेको छ ।
यस्तो छ विज्ञप्ति















