ल्हेन्दे खोलाको बाढीले विद्युत् सबस्टेसनमा पुनः क्षति, पुनर्निर्माणमा अवरोध
काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले त्रिशुली–३ बी हब सबस्टेसनमा पुनः क्षति पु¥याएको छ । केही वर्षअघि निर्माण गरिएको यो सबस्टेसन यतिबेला पुनः बाढीको जोखिममा परेको हो ।
अविरल वर्षापछि आएको भीषण बाढीले सबस्टेसनमा लगाइएको सुरक्षा पर्खाल बगाएको छ । पर्खाल लच्किएर खोलाले बगाएपछि सबस्टेसनमा बाढी पस्ने खतरा तीव्र बनेको छ ।
प्राविधिकरुपमा अति महत्वपूर्ण मानिने यो सबस्टेसनबाट उच्च भोल्टेजको २२० केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो । यद्यपि, पछिल्ला बाढीका कारण यसको संरचना फेरि जोखिममा परेको छ ।
अन्य विद्युत परियोजनाहरुमा प्रत्यक्ष क्षति नभएको बताइएको छ । तर, बाढीले निर्माणस्थलसम्म पुग्ने बाटो बगाएपछि पुनर्निर्माण र मर्मत कार्यमा बाधा पुगेको छ ।
यसैबीच, भोटेकोशी र आसपासका नदीहरुमा पानीको सतह अत्यधिक बढेपछि रसुवा र नुवाकोटका तटीय क्षेत्रहरु डुबानमा परेका छन् । विशेष गरी सिमानाक्षेत्रमा पर्ने उत्तरगया धाम जलमग्न भएको स्थानीय प्रशासनले जनाएको छ।
यस अघिको बाढीबाट समेत क्षति व्यहोरेको त्रिशुली–३ बी सबस्टेसनमा पुनः बाढी पस्ने खतरा देखिएको छ ।













