निर्यात विस्तारमा ठूलो छलाङ : नेपालका कुन–कुन उत्पादहरूले विदेशमा बजार पाएका छन् ?
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार आएको छ । पछिल्लो समय आयात र निर्यात दुवै उल्लेख्य वृद्धि भएको छ ।
एकै वर्ष २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा आयात १३.२५ प्रतिशत वृद्धि भई १८ खर्ब ४ करोड १२ लाख रुपैयाँ कायम भएको छ । यता, निर्यातको बजारमा पनि ऐतिहासिक रेकर्ड कायम भएको छ ।
एकै वर्ष नेपालले कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको माल वस्तु निर्यात गरेको छ । यो अघिल्लो आवको तुलनामा ८१.८० प्रतिशत धेरै हो । अघिल्लो आवभर नेपालबाट १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएका थिए ।
नेपालको निर्यात हालसम्मकै उच्च देखिएको छ । विदेशी बजारमा नेपालको उत्पादनको माग र प्रतिस्पर्धा अझै सशक्त बनाएको आँकडाले देखाउँछ । नेपालले एक दशक लामो निर्यात इतिहासलाई नयाँ दिशा दिएका छन् ।
सोयाबिन तेल, फलाम र इस्पात, धागो, सूर्यमुखी तेल जस्ता प्रमुख वस्तुहरूको निर्यातले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । विशेषगरी सोयाबिन तेलको निर्यातमा भएको अभूतपूर्व वृद्धिले नेपाललाई एक प्रमुख निर्यातक राष्ट्रको रूपमा प्रस्तुत गरेको छ।
नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल निर्यात भएको छ । विभागका अनुसार गत आवमा सोयाबिन तेल खर्ब ६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको ३८.५ प्रतिशत हुन आउँछ । गत वर्ष सोयाबिन तेलको निर्यात ११८.३२ गुणा बढेको हो । सोयाबिन तेलको मुख्य बजार भने भारत हो । नेपालले विदेशी मुलुकहरुबाट कच्चा पदार्थहरु आयात गरि प्रशोधन गर्दछ । हाल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट यसको कच्चा तेल आयात गर्छ । यसलाई रफाइन गरि उपभोग्य तेल बनाई भारतमा निर्यात हुने गरेको छ ।
विभागका अनुसार फलाम र इस्पातका उत्पादनहरू निर्यातको हिस्सा ५.९ प्रतिशत छ । गत आवमा नेपालले यस्तो उत्पादनहरु १६ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
सर्वाधिक निर्यात हुनेको तेस्रो सूचीमा धागो छ । गत आवमो धागो निर्यात १९.८५ प्रतिशत बढेर १४ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ । कुल निर्यातमा धागोको योगदान ५.२ प्रतिशत हुन आउँछन् ।
चौंथो सूचीमा रहेको सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा नेपालले यस्तो तेल १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । कुल निर्यातमा यसको योगदान ४.४ प्रतिशत हुन आउँछ । अघिल्लो आवमा भने यस्तो तेलको निर्यात १६ करोड ३५ लाख रुपैयाँ मात्रै रहेको थियो ।
पाँचौं स्थानमा रहेको उनको गलैचाँ निर्यात भने सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, गत आवमा भने १.९३ प्रतिशत बढेर १० अर्ब ७७ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कुल निर्यातमा तयारी पोशाकको हिस्सा ३.२ प्रतिशत रहेको छ । गत आवमा नेपालले ८ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेको छ ।
विभागका अनुसार जुट र जुटका उत्पादनहरु पनि ८ अर्ब २२ करोड ६८ लाख रुपैयाँ, जुस ७ अर्ब ७१ करोड ७८ लाख, अलैँची ७ अर्ब ६८ करोड ३७ लाख, प्लाईउड ७ अर्ब ९ करोड ९६ लाख, ५ अर्ब १४ करोड २८ लाख रुपैयाँ बराबरको ऊनको फेल्ट उत्पादनहरू निर्यात भएको छ ।
विभागका अनुसार गत आवमा ४ अर्ब ५९ करोड ८ लाख रुपैयाँ बराबरको चिया, ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बराबरको कुकुर तथा बिरालोको आहारा, तेलको केक ३ अर्ब ६२ करोड ९८ लाख, उन र पश्मिना सल ३ अर्ब २२ करोड ४१ लाख, ३ अर्ब ८ करोड ३१ लाखको कपडा, २ अर्ब ५१ करोड ५३ लाखको काठ, २ अर्ब ४१ करोड ४३ लाखको पाल तेल, २ अर्ब ३७ करोड ७२ लाखको चाउचाउ र पास्ता, २ अर्ब २१ करोड ९४ लाखको सिमेन्ट निर्यात भएका छन् ।
यस्तै, रोसिन तथा रेसिन एसिड २ अर्ब ५ करोड ८६ लाख, २ अर्ब ४ करोड ३७ लाखको जुत्ता चप्पल, २ अर्ब ४ करोड २१ लाख रुपैयाँको जडीबुटी, १ अर्ब ३२ करोड ९९ लाखको ताम्र र यसका उत्पादन, १ अर्ब २२ करोड २६ लाखको नेपाली कागज, १ अर्ब १५ करोड ७ लाखको अम्रिसो, ६९ करोड ७३ लाखको सिमेन्ट क्लिंकर, ५८ करोड ३६ लाखको अदुवा निर्यात भएको छ । यी बाहेकका अन्य धेरै वस्तुहरु विदेशी मुलुकले नेपालबाट लगेका छन् ।













