नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी
काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको फिटनेस प्रदर्शनी ‘नेपाल फिटनेस एक्स्पो २०८२’ आयोजना हुने भएको छ।
क्लासिक फिटनेस एकेडेमीले आगामी भदौ १४ गते मल्ल होटल, काठमाडौँमा आयोजना गर्न लागेको यो एक्स्पोले नेपालमा फिटनेस क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले रिगल इभेन्टको व्यवस्थापनमा यो एक्स्पो ल्याउन लागेको हो।
एकेडेमीका संस्थापक रोजल शाहीका अनुसार, यो एक्स्पो केवल सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई, व्यवसायिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय सहभागिता र नयाँ सम्भावनाहरूको खोजी गर्ने मञ्च पनि हो। कार्यक्रममा भारत, मलेसिया लगायत विभिन्न एशियाली मुलुकबाट चर्चित फिटनेस इन्फ्लुएन्सरहरू, व्यवसायिक प्रतिनिधिहरू र नेपाली फिटनेस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहनेछ। सहभागीहरूले छोटो तालिम, स्वास्थ्यसम्बन्धी परामर्श, प्रदर्शनी स्टल अवलोकन, योग, शो, सेमिनार, कार्यशाला, फेसन शो र मनोरञ्जनात्मक प्रस्तुतिहरूको अनुभव लिन सक्नेछन्।
यो एक्स्पो केवल फिटनेससम्बन्धी सामग्री र सेवाहरूको प्रदर्शनी मात्र नभई व्यावसायिक सञ्जाल विस्तार गर्ने प्लेटफर्म समेत भएको उनले बताए । यसले नेपाली फिटनेस उद्योगलाई व्यावसायिक रूपमा बलियो बनाउने र अन्तर्राष्ट्रियस्तरमा पुऱ्याउने उद्देश्य राखेको जानकारी दिनुहुँदै उनले एक्स्पोमा ब्राण्ड प्रदर्शनी, पोषण, उपकरण, पोशाक र यससम्बन्धी सेवाहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने जानकारी दिए ।
‘नेपाल फिटनेस एक्स्पो, २०८२ केवल एक इभेन्ट मात्र होइन, यो आन्दोलन हो। फिटनेसलाई जीवनशैलीको रूपमा स्थापित गर्ने, युवाहरूलाई सशक्त बनाउने र नेपाललाई स्वस्थ र फिटनेसको नयाँ युगमा प्रवेश गराउने माध्यम हो,’ संस्थापक शाहीले भने । उनका अनुसार एक्स्पोमा फिटनेस अवार्ड शो पनि गरिने छ । राइजिङ एथलेटिक, बेष्ट एथलेटिक, बेष्ट कोच र लाइफटाइम एचिभमेन्ट गरी प्रमुख चार विधामा उक्त सम्मान प्रदान गरिने छ ।
भारत, मलेसिया तथा अन्य एसियाली मुलुकहरूबाट प्रसिद्ध फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरू यस कार्यक्रममा सहभागी हुने भएका छन्, जसले एक्स्पोलाई अझ विशेष बनाउने छ । फिटनेस इन्फ्लुएन्सरहरू र व्यावसायिक प्रतिनिधिहरूबाट फिटनेससम्बन्धी सङ्क्षिप्त ट्रेनिङहरू र विशेषज्ञहरूबाट निःशुल्क स्वास्थ्य परामर्श उपलब्ध गराइने छ ।
यो एक्स्पोमा नेपाली फिटनेस आइकनहरू राजेश शाही, महेश्वर महर्जन, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ तथा अन्तर्राष्ट्रिय फिटनेस सेलीब्रेटीहरू रोहित खत्री, नरेश सूर्या, युनिश शेख, सोनिया सिंह खत्री, रजत गोयल, बिन्दिया शर्मा र जेर्री कान टानलगायतको सहभागिता रहने छ। करिब तीन हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको एक्स्पोमा फिटनेससँग चासो राख्नुहुनेहरू, प्रशिक्षक, खेलाडी, व्यवसायी र विभिन्न ब्राण्डका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ ।
नेपालमा हालसम्म करिब ३०० जिम केन्द्रहरू सञ्चालनमा छन् तर आधिकारिक प्रोटिन सप्लिमेन्ट ब्रान्ड जम्मा सातवटा मात्र छन्। यही अभावको परिपूर्तिका लागि यो एक्स्पोले नयाँ व्यापारिक अवसर र चिनजानको वातावरण तयार पार्नेछ। एक्स्पोमा फिटनेस सेन्टर खोल्न चाहने, सप्लिमेन्ट व्यापार गर्ने, वा यो क्षेत्रमा नयाँ योजना बनाउने जो कोहीका लागि यो सुनौलो अवसर हो।
शैक्षिक सेमिनार र कार्यशालाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी आइकनहरूसँग ‘मिट एण्ड ग्रेट’ सेसनहरू यो एक्स्पोका मुख्य आकर्षणहरू हुन् ।
यस्तै, फिटनेस स्टलहरू र व्यापार प्रदर्शनी जस्तैः फिटनेस गियर र उपकरण, पोषण पुरक उत्पादनहरू, हेल्थटेक इन्नोभेसन र नेपालका अग्रणी जिमखाना र फिटनेस केन्द्रहरूको सेवाबारे जानकारी पनि एक्स्पोको आकर्षणका रूपमा रहेका छन् ।
नेपाली फिटनेस उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु, स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबीच साझेदारी र लगानीको अवसर सृजना गर्नु, फिटनेस, स्वास्थ्य र जीवनशैलीको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्नु हो।
यो एक्स्पोमा प्रदर्शनी मात्र नभई फिटनेस शो, योगा, डेमो ट्रेनिङ र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत समावेश गरिंदै छ, जसले सम्पूर्ण इभेन्टलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।















