१५ कार्तिक २०८३, आइतबार

साउन महिनामा पशुपति जाने भक्तजनलाई लक्षित गर्दै निःशुल्क बस सेवा पुनः सञ्चालन



काठमाडौं । साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बसमार्फत निःशुल्क बस सेवा प्रदान गर्दै आएको छ।

पहिलो र दोस्रो सोमबार (साउन ५ र १२ गते) बिहान ४ बजेदेखि १० बजेसम्म यो सेवा दिइएको थियो।

अब तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमबार श्रावण २६ गते बिहान ५ बजेबाट सेवा संचालन हुने जानकारी दिइएको छ।

स सेवा दुई फरक रुटबाट सञ्चालन हुनेछ। पहिलो रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिर पुग्नेछ। दोस्रो रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिर पुग्नेछ।

सेवा पूर्ण रूपमा निःशुल्क रहेकोले आयोजकले सबै भक्तजनलाई बिहान ५ बजेदेखि सञ्चालन हुने बस सेवा प्रयोग गर्न आग्रह गरेको छ। भक्तजनहरूले सजिलै र सुरक्षित रूपमा मन्दिर पुग्न सकून् भन्ने उद्देश्यले यो सेवा उपलब्ध गराइएको हो।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड अत्यधिक हुने हुँदा भिड व्यवस्थापन तथा भक्तजनको सुविधाका लागि यो सेवा सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ। पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायातको बसद्वारा र गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा यो सेवा सञ्चालनमा ल्याइएको हो।