१ आश्विन २०८३, बिहिबार

ऋणीको मृत्यु वा परियोजना नष्ट हुँदा सुरक्षण दिने ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना’ सार्वजनिक



काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ऋणीको मृत्यु, अपाङ्गता वा परियोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने सम्भावित नोक्सानीको जोखिम न्यूनीकरण गर्न ‘लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२’ लागू गरेको छ।

उक्त योजना भक्तपुरमा आज आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, लघु कर्जा विभाग प्रमुख तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कोषले घोषणा गरेको यो अतिरिक्त सुरक्षण योजनाले चालू सुरक्षण कार्यक्रमअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्मको कर्जालाई समेट्नेछ। योजनाले ऋणी वा उनका पति–पत्नीको मृत्यु, स्थायी अपाङ्गता, वा परियोजना पूर्ण रूपमा नष्ट भएमा बाँकी कर्जाको शतप्रतिशत दाबी भुक्तानी दिने व्यवस्था गरेको छ।

उक्त योजनामा सहभागी बैंक तथा वित्तीय संस्थाले नियमित सुरक्षण शुल्कबाहेक ०.१५ प्रतिशत अतिरिक्त सुरक्षण शुल्क तिर्नुपर्नेछ।

कोषले यो योजनाले लघु, साना तथा मझौला उद्यममा प्रवाहित कर्जा शतप्रतिशत सुरक्षित हुने विश्वास व्यक्त गरेको छ। साथै, यसबाट कर्जाको सुरक्षणका लागि चल–अचल सम्पत्ति धितो राख्नु पर्ने झन्झट कम भई बैंक तथा वित्तीय संस्थाको प्रक्रिया सरल हुने अपेक्षा गरिएको छ।