१५ कार्तिक २०८३, आइतबार

११ निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा



काठमाडौं । सरकारी निर्माण सम्झौतामा लापरवाही देखाएका ११ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। तोकिएको समयमै निर्माण कार्य सम्पन्न नगरेका कारण विभिन्न निकायहरूको सिफारिसमा ती कम्पनीहरूलाई प्रतिबन्धित गरिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूमा कञ्चनपुरको राखी कन्स्ट्रक्सन, रोल्पाको जलजला मल्टी बिजनेस कन्स्ट्रक्सन, नेपालगञ्जको शिवम् कन्स्ट्रक्सन, काठमाडौंको जगदम्बा कन्स्ट्रक्सन, क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन, सप्तकोशी जलाधार निर्माण कम्पनी, आशिभ निर्माण सेवा, ललितपुरको शैलुङ कन्स्ट्रक्सन, रुकुमको अमर हर्क दीपक कन्स्ट्रक्सन, र बर्दियाको सदाशिव कन्स्ट्रक्सन रहेका छन्। यस्तै, एक भारतीय कम्पनी आरावली इन्फ्रापावर लिमिटेड पनि कालोसूचीमा परेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई विभिन्न अवधिका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ। शैलुङ कन्स्ट्रक्सन र आरावली इन्फ्रापावरलाई दुई वर्ष, सप्तकोशी र सदाशिवलाई डेढ वर्ष, र बाँकी कम्पनीहरूलाई एक वर्षका लागि कुनै पनि सरकारी खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ।

कारबाहीका लागि सम्बन्धित आयोजना कार्यालयहरूबाट सिफारिस गरिएको थियो। सेती राजमार्ग दक्षिण खण्ड टिकापुर–लोडे–चैनपुर सडक योजनाले राखी र जलजलालाई, सडक डिभिजन चौरजहारीले शिवम् र अमर हर्क दीपक कन्स्ट्रक्सनलाई, वाग्मती सभ्यता एकीकृत विकास समितिले क्वालिटी इन्द्रावतीलाई, पूर्वाधार विकास कार्यालय ओखलढुंगाले सप्तकोशीलाई, बढैयाताल गाउँपालिकाले सदाशिव कन्स्ट्रक्सनलाई, र सरावल गाउँपालिकाले आशिभ निर्माण सेवालाई कारबाहीका लागि सिफारिस गरेका थिए।

सार्वजनिक खरिद नियमावली, २०६३ को दफा ६३ को उपदफा १ अनुसार कारबाही गरिएको जनाइएको छ।