विद्युत बिक्री घट्दा बुद्धभूमि हाइड्रो घाटामा, ईपीएस पनि ऋणात्मक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विद्युत बिक्री घट्दा बुद्धभूमि हाइड्रो घाटामा, ईपीएस पनि ऋणात्मक



काठमाडौं । गत आर्थिक वर्ष बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले नोक्सानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी ७९ लाख रुपैयाँ बढेको हो ।

कम्पनीले हालसम्मको सञ्चालनबाट २ करोड २५ लाख २४ हजार ७४७ रुपैयाँ खुद नोक्सानी बेहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नोक्सानी १ करोड ४९ लाख ५८ हजार ४८४ रुपैयाँ थियो। विद्युत बिक्री घट्नु र खर्च वृद्धि हुनु घाटा बढ्नुको मुख्य कारण हो।

समीक्षावधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ४४ लाख ६९ हजार रुपैयाँबाट घटेर १४ करोड ८३ लाख ७५ हजार रुपैयाँमा झरेको छ। आम्दानीमा आएको यो गिरावटले कम्पनीको नाफा संकुचित गर्न भूमिका खेलेको हो।

उता, कम्पनीको अपरेसन खर्च ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने वित्तीय लागत मात्रै १५ करोड रुपैयाँभन्दा बढी छ। कर्मचारी खर्च ८ लाख ७३ हजार रुपैयाँ र अन्य प्रशासनिक खर्च समेत जोडिँदा कुल खर्च उल्लेखनीय रूपमा बढेको देखिन्छ।

चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ऋणात्मक ५ रुपैयाँ ६५ पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७७ रुपैयाँ १४ पैसा कायम छ। यस्तै, कम्पनीको रिटेन्ड अर्निङ १० करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ।

कम्पनीले हालसम्म लिएको दीर्घकालीन ऋण तथा दायित्व ९ करोड १५ लाख रुपैयाँ नाघेको छ। कुल दायित्व १४ करोड २२ लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ३१ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो त्रैमासमा ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी यो त्रैमासमा नोक्सानीमा फर्किएको छ। आम्दानी घट्नुका साथै वित्तीय लागत र अन्य खर्च वृद्धि हुनुले कम्पनीलाई दबाबमा पारेको विश्लेषण गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्