दोस्रो खुलामुखि योजना ‘एनआई ३१’ निष्काशन गर्दै नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो दोस्रो खुलामुखी म्युचुअल फण्ड योजना सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। क्यापिटलले ‘एनआई ३१’ नामक म्युचुअल फण्ड योजना सर्वसाधारणका लागि ल्याउन लागेको हो।
उक्त योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई निष्कासन गर्न लागेको छ।
यसमध्ये १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि खुला गरिनेछ।
यो योजनामा लगानी गर्न चाहने व्यक्तिहरूले साउन ३० गतेदेखि आवेदन दिन सक्नेछन्। फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २५ लाख इकाईसम्मका लागि आवेदन दिने व्यवस्था गरिएको छ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनामा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, सो अवधिमा पर्याप्त आवेदन प्राप्त नभएमा आवेदन अवधि भदौ १३ गतेसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।
यदि निर्धारित आवेदन अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ७५ लाख इकाईका लागि आवेदन प्राप्त भएमा बाँडफाँट प्रक्रिया अघि बढाइनेछ। तर, न्यूनतम इकाई बिक्री हुन नसकेमा योजना खारेज गरिनेछ र १५ दिनभित्र सबै आवेदकहरूको रकम फिर्ता गरिनेछ।













