जीवन बीमा कम्पनीको व्यापार पौने २ खर्ब, कसले कति कलेक्शन गरे प्रिमियम ?
काठमाडौं । ठुला जीवन बीमा कम्पनीको व्यवसाय दोहोरो अंकमा बढेको छ । एकै वर्ष कम्पनीहरुल पौने २ खर्बको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवमा १४ वटा कम्पनीहरुले कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा १६.०४ प्रतिशत धेरै हो । अघिल्लो आवमा कम्पनीहरुले कुल १ खर्ब ५६ अर्ब ३घ करोड १४ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
गत आवमा कम्पनीहरुले ४० अर्बा १७ करोड ६० लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । कम्पनीहरुको नयाँ व्यवसाय पनि १६.९६ प्रतिशत बढेको देखिन्छ । यस्तै, ३ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बीमा मार्फत प्रिमियम कलेक्सन गरेका छन् । यता, नविकरण मार्फत संकलन हुने बीमा शुल्क भने १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ कायम भएको छ ।
गत आवमा सबै कम्पनीहरुको व्यवसाय सरात्मक रुपमा बढेको देखिन्छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफकै वर्चस्व कायमै छ । कम्पनीले एकै वर्ष ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.५९ प्रतिशत धेरै हो ।
व्यवसायको आकारमा नेशनल लाइफ दोस्रो सूचीमा छ । कम्पनीले एक वर्षमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १६.७७ प्रतिशत बढेको हो ।
तेस्रो सूचीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल(एलआइसी) ले १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँको व्यवसाय भित्र्याएको छ । कम्पनीको व्यापार अघिल्लो आवको तुलनामा १०.०४ प्रतिशत वृद्धि भएको देखिन्छ ।
यस्तै, हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख, सूर्यज्योतिले ११ अर्ब १८ करोड ७३ लाख र एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
प्राधिकरणका अनुसार व्यापार बढाउन भने सन नेपाल लाइफ पहिलो सूचीमा देखिएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा २८.८० बढेर ५ अर्ब रुपैयाँ पुगेको छ ।
दोस्रो सूचीमा भने एशियन लाइफ छ । कम्पनीले व्यापारको आकार एकै वर्ष २७.२३ प्रतिशत बढाएको हो ।
यस्तै रिलायवल नेपाल लाइफको व्यापार पनि २५.५५ प्रतिशत बढेर ५ अर्ब २८ करोड ४५ लाख, प्रभू महालक्ष्मीको २२.८२ प्रतिशत बढेर ५ अर्ब ३७ करोड, सिटिजन लाइफको २०.८५ प्रतिशत बढेर ७ अर्ब ५१ करोड १३ लाख, आइएमई लाइफको १९.२२ प्रतिशत बढेर ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
यता, सानिमा रिलायन्स लाइफको व्यापार पनि १३.२१ प्रतिशत बढेर ७ अर्ब, मेट लाइफको १०.२० प्रतिशत बढेर ६ अर्ब २५ करोड, र राष्ट्रिय जीवन बीमा कम्पनीको १३.१० प्रतिशत बढेर ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।














