निर्जीवन बीमा कम्पनीले भित्र्याए ४४ अर्बको बिजनेश: शिखर नै नम्बर वान्, कसको व्यापार कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्जीवन बीमा कम्पनीले भित्र्याए ४४ अर्बको बिजनेश: शिखर नै नम्बर वान्, कसको व्यापार कति ?



काठमाडौं । ठुला निर्जीवन बीमा कम्पनीहरुको व्यापारको आकार ४४ अर्ब पुगेको छ । एक वर्षमा कम्पनीहरुले व्यापार ६.७७ प्रतिशत बढाएका छन् ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीहरुले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको तुलनामा ६.७७ प्रतिशत अर्थात् २ अर्ब ७८ करोड रुपैयाँ बढेको हो । अघिल्लो आवको साउनदेखि असार मसान्तसम्म कम्पनीहरुले ४१ अर्ब १७ कराड १३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

अधिकांश कम्पनीहरुले व्यापार बढाएता पनि दुई वटाको भने घटेको छ ।

निर्जीवन बीमा व्यापारमा शिखर इन्स्योरेन्स कम्पनी नै नम्बर वान् बनेको छ । कम्पनीले आफ्नो व्यापारको आकार ५.९२ प्रतिशत बढाएको छ । गत आवमा शिखरले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा पनि कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थिए ।

निर्जीवन बीमा व्यवसायमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) भने दोस्रो सूचीमा छ । कम्पनीले पनि एकै वर्ष ५ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४.४६ प्रतिशत धेरै हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स भने तेस्रो सूचीमा छ । कम्पनीले पनि ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा ३.१८ प्रतिशत मात्रै धेरै हो । चौंथो सूचीमा रहेको हिमालयन एभरेष्टले पनि ४ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको व्यवसायको आकार एकै वर्ष १०.१४ प्रतिशत बढेको हो । निर्जीवन बीमा व्यवसायमा शिखरपछि सलिका, सिद्धार्थ र हिमालयन एभरेष्टबीच निकै प्रतिस्पर्धा देखिन्छ ।

व्यापार बढाउने मामलामा भने नेपाल इन्स्योरेन्स तगडा देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष २८.११ प्रतिशत बढेर २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ कायम भएको छ ।

यता, दोस्रो सूचीमा रहेको ओरियण्टल इन्स्योरेन्सले पनि २५.१३ प्रतिशत बढाएर २१ अर्ब ७० करोड ४८ लाख रुपैयाँ पुर्याएको छ ।

यता, एनएलजी इन्स्योरेन्स पनि व्यावसाय २०.०६ प्रतिशत बढाएको देखिन्छ । एकै वर्ष कम्पनीले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तर, राष्ट्रिय बीमा कम्पनी र नेशनल लाइफको व्यापार भने घटेको देखिन्छ । अघिल्लो आवको तुलनामा राष्ट्रिय बीमा कम्पनीको व्यापार १३.४५ प्रतिशत घटेर १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । यता, नेशनल इन्स्योरेन्सका पनि ११.४४ प्रतिशत घटेर १ अर्ब ६ करोड १६ लाख रुपैयाँ कायम भएको छ ।

प्राधिकरणका अनुसार आइजीआई प्रुडेन्सियलले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ, नेकोले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ, युनाईटेड अजोडले २ अर्ब ७८ करोड, सानिमा जिआइसीले २ अर्ब ७० करोड र प्रभू इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण, रकम लाखमा


प्रतिक्रिया दिनुहोस्