११ श्रावण २०८३, सोमबार

सिटिजन बैंकले कमायो १ अर्ब २९ करोड नाफा, लाभांस क्षमता कति ?



काठमाडौँ । सिटिजन बैंकको नाफामा सामान्य कमी देखिएको छ । शनिवार बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले कुल १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, यो नाफा अघिल्लो आवको तुलनामा २.०७ प्रतिशत कमी हो ।

अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै कर्जा नोक्सानीको सम्भावित जोखिम कभर गर्न ठुलो परिमाणमा जगेडा व्यवस्था गरेपछि नाफा घटेको हो ।

तर, बैंकको खुद ब्याज आम्दानी भने दोहोरो अङ्कमा वृद्धि भएको छ । गत आवको बैंकको यस्तो आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।
यता, सञ्चालन नाफा पनि सामान्य घटेर २ अर्ब ९ लाख कायम भएको छ ।

बैंकको वितरणयोग्य नाफा भने बढेको देखिन्छ । गत आवमा बैंकले ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यसका आधारमा यो वर्ष बैंकले आफ्ना सेयर धनीलाई ५.२५ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ ।

हाल बैंकको खराब कर्जा पनि ४.९४ प्रतिशत पुगेको छ। जबकि, अघिल्लो आवमा भने ४.१० प्रतिशत रहेको थियो ।
हाल बैंकको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्क १५५.४२ रुपैयाँ छ।


बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ। जगेडा तथा कोषमा भने ७ अर्ब १४ करोड ४१ लाख रुपैयाँ राखेको छ ।