अब यात्रुका आफन्त टर्मिनलभित्र जान नपाउने, क्यानले किन रोक्यो भिजिटर पास वितरण ?
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण सेवा बन्द गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यो व्यवस्था साउन २७ गते, मंगलबारदेखि लागू गरिएको जानकारी दिएको हो।
सूचनामा भनिएको छ, “व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, फरक क्षमताका व्यक्ति, गर्भवती महिला तथा नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको छ।” साथै, ह्वीलचेयरलगायत विशेष सहायता आवश्यक यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहकार्यमा सहजीकरण गरिने जनाइएको छ।
यसका साथै, चेक(इन ब्यागेजको संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमै उल्लेख हुने भएकाले यात्रुहरूलाई सोही अनुसार नियम पालना गर्न समेत अनुरोध गरिएको छ।
नयाँ व्यवस्थाअनुसार अब यात्रुका आफन्तले भिजिटर पास लिएर अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेश गर्न नपाउने भएका छन्। यसअघि विमानस्थलको ड्युटी अफिसमार्फत भिजिटर पास वितरण गरिँदै आएको थियो।














