ट्रयाकमा फर्कियो यति एयरलाइन्स, ९ महिनामै सवा ४ अर्बको व्यापार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

ट्रयाकमा फर्कियो यति एयरलाइन्स, ९ महिनामै सवा ४ अर्बको व्यापार



झन्डै साढे ६ अर्ब कर्जाका लागि रेटिङग

काठमाडौं । नेपालको आन्तरिक आकासमा यति एयरलाइन्सले फेरि आफ्नो पखेटा फैलाउँदै अगाडि बढिरहेको छ । केही वर्षअघि दुर्घटना र चुनौतीले प्रभावित बनेको यो कम्पनी अहिले विस्तारको गतिमा फर्किएको हो ।

पछिल्लो तथ्यांकअनुसार यतिले व्यापार र यात्रु संख्यामा उल्लेखनीय सुधार गरेको छ । यसले कम्पनीको पुनःस्थापनाको संकेत दिएको छ ।

कम्पनीले ९ महिनामै आफ्नो व्यापार ४ अर्ब नघाएको छ । कम्पनीले आर्थिक वर्ष २०२४–२५ को पहिलो ९ महिनामै ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

अघिल्लो वर्ष २०२४ मा भने कम्पनीले ४ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, २०२२ मा ३ अर्ब ९२ करोड र २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ देखि हालसम्म आइपुग्दा कम्पनीको व्यापार १७ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

सन् २०२३ को जनवरीमा पोखरामा भएको एक विमान दुर्घटनाले कम्पनीको साख र व्यापारमा ठूलो असर पारेको थियो ।

त्यसपछिको समय कम्पनीका लागि निकै कठिन रहन पुग्यो । तर, उक्त दुर्घटनापछि कम्पनीले चालेका कदमहरू, नयाँ लगानी, सेवा विस्तार र व्यवस्थापनको सक्रियताले गर्दा व्यापार फेरि ट्र्याकमा फर्किएको हो ।

केही वर्षदेखि खुम्चिँदो बजार हिस्सा पनि अहिले निरन्तर बढ्दो छ । आँकडा अनुसार सन् २०२३ मा कम्पनीको बजार हिस्सा १७ प्रतिशतमा झरेको थियो । तर, सन् २०२४ मा यात्रुको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै बजार हिस्सा फेरि २१ प्रतिशतमा पुगेको छ ।

यात्रु भर्ना दर (अकुपेन्सी रेट) पनि बढ्दै गएको छ । २०२३ मा यो दर ७८ प्रतिशत रहेकोमा २०२४ मा ८२ प्रतिशत पुगेको हो । सन् २०२४ मा कम्पनीले थप दुई वटा नयाँ एटीआर ७२ विमान संचालन भएको छ, जसले गर्दा व्यापारमा उल्लेख्य सुधार आएको हो ।

नयाँ विमान थपिएसँगै अहिले यतिसँग कुल ७ वटा पुगेको छ । जसमा ६ वटा आफ्नै स्वामित्वमा छन् भने एउटा लिजमा ल्याइएको छ । ती दुई विमान खरिदका लागि कम्पनीले करिब १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

सेवा विस्तारसँगै कम्पनीले हाल २० वटा मार्गमा आन्तरिक हवाई सेवा दिँदै आएको छ । यसअघि १६ वटा मार्गमा सेवा दिँदै आएको थियो । कम्पनीले रुट विस्तारसँगै आम्दानी पनि विविधीकरण गर्न थालेको देखिन्छ । तर, अझै पनि चारवटा मुख्य मार्ग-काठमाडौं-पोखरा, पोखरा-काठमाडौं, र काठमाडौं-विराटनगरबाट मात्रै ४७ प्रतिशत आम्दानी हुने गरेको छ ।

व्यापार मात्र नभई मुनाफा दरमा पनि व्यापाक सुधार देखिएको छ । सन् २०२४ मा कम्पनीले कुल कारोबारको २ प्रतिशत बराबरको नाफा कमाएको थियो । तर, सन् २०२५ को पहिलो ९ महिनामा नाफा दर ५.४७ प्रतिशत पुगेको छ । पछिल्ला तीन वर्षको तथ्यांकअनुसार यात्रु संख्या १४ प्रतिशत बढेका देखिन्छ । यता, कुल कारोबार २७ प्रतिशत वृद्धि भएको छ ।

२००२ मा स्थापना भएको यति एयरलाइन्स नेपालकै पुराना आन्तरिक सेवा प्रदायकमध्ये एक हो । कम्पनी अहिले नेपालका प्रमुख आन्तरिक मार्गहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ । बजार हिस्सा अनुसार दोस्रो ठूलो आन्तरिक विमान सेवा प्रदायकको सूचीमा रहेको छ ।

यति एयरलाइन्सले विगतका संकट पार गर्दै पुनः विश्वासिलो हवाई सेवा प्रदायकको रूपमा पुनः उभिन थालेको देखिन्छ । यात्रुको विश्वास, सेवा विस्तार र व्यवस्थापनको प्रभावकारी पहलले नै कम्पनीले फेरि आन्तरिक हवाई बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।

झन्डै साढे ६ अर्ब कर्जाका लागि रेटिङग

कम्पनीले झन्डै साढे ६ अर्ब कर्जाका लागि रेटिङ गराएको छ ।

कम्पनीले हालसम्म दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २ करोड ७१ लाख अमेरिकी डलर बराबरको ऋणको लागि क्रेडिट रेटिङ गराइसकेको छ ।

इनफोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई दीर्घकालीन ऋणका लागि ‘ ट्रिपल बि माइनस’ र अल्पकालीन सुविधाका लागि ‘एथ्रि’को रेटिङ प्रदान गरेको छ ।

कम्पनी पूर्ण रूपमा प्रवर्द्धक स्वामित्वमा सञ्चालित छ । कम्पनीमा शेर्पा समूहको ५१ प्रतिशत सेयर स्वामित्व छ भने एशियन लाइफको ४९ प्रतिशत स्वामित्व छ।


प्रतिक्रिया दिनुहोस्