‘स्ट्रक्चरल’ संकटमा नेपाली स्टिल उद्योग, कुन ब्रान्डको व्यापार कस्तो चल्दै ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘स्ट्रक्चरल’ संकटमा नेपाली स्टिल उद्योग, कुन ब्रान्डको व्यापार कस्तो चल्दै ?



काठमाडौं । नेपाली निर्माण क्षेत्रमा प्राण तत्वको रूपमा हेरिने स्टिल उद्योग अहिले गम्भीर व्यापार संकटमा देखिन्छ ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको यस उद्योगको व्यापारमा भारी गिरावट आएको छ । व्यापारको आँकडा हेर्ने हो भने निर्माणको मेरुदण्ड मानिने स्टिल उद्योग अहिले आफैं धरापमा परेको देखिन्छ ।

लगातार बढ्दो आयात, घट्दो माग, मूल्य प्रतिस्पर्धा र घरेलु बजारमा चलिरहेको ‘अनिश्चितता’ ले स्टिल उद्योगहरुको व्यापारमा भारी गिरावट आएको छ ।

केही समयअघि पुल–पुलेसा, भवन, बाटो–घाटोदेखि ठूला पूर्वाधार आयोजनासम्म स्टिलको माग उच्च थियो । एकातिर निर्माण क्षेत्रमा आएको सुस्तता, अर्कोतिर विदेशी स्टिलको आक्रामक आयात, मूल्य प्रतिस्पर्धा र सरकारी नीतिमा अस्पष्टता लगायतले स्टिल उद्योगको व्यापार खस्किँदो छ ।

सन् २०२४ मा उद्योगको समग्र व्यापार करिब १९ प्रतिशतले घटेको छ । केही अग्रणी स्टिल कम्पनीहरूको व्यापारमा पनि व्यापाक संकुचन देखिएको छ । केही नयाँ र मझौला कम्पनीहरूले भने प्रतिस्पर्धाकाबीच पनि व्यापार बढाउन सफल भएका छन् ।

संचालनमा रहेका मध्ये १६ वटा स्टिल कम्पनीहरुले उपलब्ध गराएको गत वर्ष सन् २०२४ को तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्ष सन् २०२३ मा ती कम्पनीहरुले १ खर्ब ५ अर्ब ६३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । तर, २०२४ मा भने १८.८४ प्रतिशत घटेर ८५ अर्ब ७२ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।

अधिकांश कम्पनीहरुको व्यापार घटेको छ । १६ वटमध्ये चार वटाले मात्रै व्यापार बढाएका छन् । नेपाली स्टिल उद्योग अहिले माग र मूल्यको दोहोरो दबाबमा छ । निर्माण क्षेत्रमा माग घट्दा कतिपय निजी र सरकारी ठूला परियोजनाहरू स्थगित भएका छन् । अर्को तर्फ विदेशी स्टिलको आयातका कारण पनि सस्तो र सजिलो पहुँचले घरेलु बजार साँघुरो बनाएको जानकारहरु बताउँछन् ।

यस्तै, मूल्य प्रतिस्पर्धा र नाफा संकुचनका कारण कम्पनीहरूले लागतमै बेच्न बाध्य छन् भने रियल इस्टेट र आवास योजनामा लगानी घट्दा पनि स्टिल उद्योग फस्टाउन सकिरहेको छैन् । सरकारी पूर्वाधार योजनाहरू, लगानीमैत्री नीति र आयात नियन्त्रण नीतिहरू अपनाई घरेलु स्टिल उद्योग धरासायी बन्ने खतराबाट जोगाउनुपर्ने उद्योगीहरुको माग छ ।

जगदम्बा स्टिलको दबदबा, कुल व्यापारमा ओगट्यो ३४.६७ प्रतिशत हिस्सा

नेपाली स्टिल उद्योगमा जगदम्बाको ठुलो हिस्सा छ । सो कम्पनीले गत वर्ष सन् २०२४ मा सर्वाधिक व्यापार गरेको छ ।

कम्पनीले सो वर्ष २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । यद्यपि, अघिल्लो वर्ष सन् २०२३ मा भने कम्पनीले ३९ अर्ब ४३ करोडको व्यापार गरेको थियो । स्टिल बजारमा कम्पनीको हिस्सा ३४.६७ प्रतिशत छ ।

शंकर समूहअन्तर्गत सञ्चालित जगदम्बा स्टिल लिमिटेड नेपालकै पहिलो संरचनात्मक स्टिल उत्पादन गर्ने उद्योग हो । सन् १९९४ मा बाराको सिमराबाट ५० मेट्रिक टन क्षमताको मिलसहित सुरु भएको कम्पनी अहिले दैनिक ३ हजार मेट्रिक टन उत्पादन क्षमतासहितको नेपालकै सबैभन्दा ठूलो स्टिल उद्योग बनेको छ । कम्पनीले विदेशबाट संरचनात्मक स्टिलको आयात घटाउँदै आत्मनिर्भरता र पूर्वाधार विकासमा योगदान दिएको छ ।

अम्बे र लक्ष्मी स्टिलबीच कडा प्रतिस्पर्धा

व्यापारको आधारमा दोस्रो ठुलो हिस्सा अम्बे स्टिलको छ । कम्पनीले गत वर्ष ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यद्यपि यो अघिल्लो वर्षको तुलनामा ३.४६ प्रतिशत कमी हो ।

अम्बेको स्टिल बजारमा ९.४० प्रतिशत योगदान छ । अम्बे स्टिल्स प्रा.लि., नेपालकै ठूला स्टिल उत्पादक उद्योगमध्ये एक हो । अम्बे समूहअन्तर्गतको यो कम्पनी सन् २००९ मा भैरहवाको नजिकै लुम्बिनी अञ्चलको गोनाहामा स्थापना भएको हो । यसको दैनिक १४०० मेट्रिक टन स्टिल उत्पादन क्षमता रहेको छ । अम्बे स्टिल्सले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । सन् १९८२ मा स्थापित अम्बे समूहको एक प्रमुख भर्टिकलको रूपमा अम्बे स्टिल्सले छोटो समयमा विश्वसनीय स्टिल ब्रान्डको छवि बनाएको छ ।

यता, लक्ष्मी स्टिलको पनि ९.३९ प्रतिशत योगदान देखिन्छ । व्यापारमा लक्ष्मी तेस्रो सूचीमा देखिन्छ । कम्पनीले गत वर्ष ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १४.७३ प्रतिशत कमी हो । अघिल्लो वर्ष कम्पनीले ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

नयाँ र मझौला कम्पनीहरू तातिए, कसले कति गरे व्यापार ?

व्यापारको आधारमा चौंथो सूचीमा रहेको गोदावारी स्टिलले पनि गत वर्ष ६ अर्ब ४० करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा १.६७ प्रतिशत बढेको देखिन्छ । स्टिल बजारमा गोदावरीको योगदान ७.४७ प्रतिशत छ ।

यस्तै, गत वर्ष पञ्जकन्या स्टिलले पनि ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २५.६१ प्रतिशत कमी हो । जबकि, सन् २०२३ मा कम्पनीले ७ अर्ब ८६ करोड बढीको व्यापार गरेको थियो ।

यस्तै, विजयश्री स्टिलले गत वर्ष ५ अर्ब ६१ करोड र श्री स्टिलले ५ अर्ब ९० लाख, प्रिमियर स्टिलले ४ अर्ब ५६ करोड ९० लाख, अशोक स्टिलले ३ अर्ब ५८ करोड ६० लाख, विशाख ग्रुपको मैनावती स्टिलले ३ अर्ब २४ करोड १० लाख र नारायणी स्टिलले १ अर्ब ९८ करोड ५० लाख, स्टिल उड नेपालले १ अर्ब ६ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

तथ्याङ्क अनुसार मालिका स्टिल उद्योगले पनि गत वर्ष सन् २०२४ मा ९४ करोड १० लाख, श्रीकृष्ण स्टिलले ८५ करोड, गोयन्का स्टिलले ७९ करोड ६० लाख र सिद्धीलक्ष्मीले ४० करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

गत वर्ष स्टिल उड नेपालको व्यापार उल्लेखय बढेको देखिन्छ । कम्पनीको व्यापार ६२.३३ प्रतिशत बढेको छ ।

यता, विजयश्रीको व्यापारमा पनि ५७.७२ प्रतिशत बढोत्तरी आएको छ । तथ्याङ्क अनुसार प्रिमियर स्टिलको व्यापार १२.१५ प्रतिशत बढेको देखिन्छ ।

कुन ब्रान्डको व्यापार कस्तो ?

स्रोतः सम्वन्धित कम्पनीहरुले उपलब्ध गराएको विवरण, रकम दश लाखमा


प्रतिक्रिया दिनुहोस्