नेपाल बैंकको चामत्कारिक ग्रोथ : १३२ गुणा बढ्यो नाफा, कस्तो छ वित्तीय प्रगति ?
काठमाडौं । नेपाल बैंकको नामा चामत्कारिक ग्रोथ देखिएको छ । एकै वर्ष बैंकको नाफा १३२ गुणा बढेको देखिन्छ ।
बिहीबार बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १३२.७५ गुणा बढी हो । अघिल्लो आवमा बैंकल २ करोड ८४ लाख रुपैइाँ मात्रै नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा ६९२.४३ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।
यता, बैंकको इम्पेयरमेनट चार्ज पनि ४ अर्ब ७५ करोड ५२ लाखबाट घटेर १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । यसरी खुद ब्याज आम्दानी, संचालन नाफा र इम्पेयरमेन्ट चार्ज घटेपनि खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।
नाफामा अप्रत्याशित वृद्धि देखिए पनि वितरणयोग्य नाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । हाल बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।
बैंकको खराब कर्जा ४.४७ प्रतिशत कायम भएको छ । जबकि, अघिल्लो आवमा भने ४.३३ प्रतिशत रहेको थियो ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ राखेको छ ।
बैंक व्यवसाय विस्तारमा पनि आक्रामक नै देखिएको छ । बैंकको निक्षेप १७.२९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि १३.८९ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ पुगेको छ ।













