बैंकको नाफा: नबिल १ नम्बर, एनआइएमबि र ग्लोबलविच प्रतिस्पर्धा, प्रभु र कुमारीको चमत्कार
काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा आकर्षक बढोत्तरी देखिएको छ । बैंकहरुको नाफा एकै वर्ष साढे ४३ प्रतिशत वृद्धि भएको छ ।
हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
बैंकहरुले गत आवमा कुल ७१ अर्ब १५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको तुलनामा ४३.३९ प्रतिशत धेरै हो । अघिल्लो आवको चौंथो त्रैमासमा पनि बैंकहरुले ४९ अर्ब ८७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
बैंकहरुको नाफामा निकै प्रतिस्पर्धा देखिएको छ । ४ वटा बैंकको नाफामा गिरावट आएको छ भने बाँकी सबै बैंकले उल्लेख्य सुधार गरेका छन् । नाफाका आधारमा बैंकहरुको रोलक्रममा पनि निकै बदलाव देखिएको छ ।
वित्तीय विवरण अनुसार यो वर्ष पनि नाफामा नम्बर वानको ताज नबिलले कायम राखेको छ । बैंकको सर्वाधिक नाफा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा पनि १५.०१ प्रतिशत धेरै हो ।
प्राय: तेस्रो सूचीमा रहने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले आफ्नो पोजिन अघि बढाएको छ । एनआइएमबिले ग्लोबल आइएमई बैंकलाई पनि उछिनेर दोस्रो पोजिशनमा पुगेको छ । बैंकले गत वर्ष ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बढी नाफा कमाएको छ । नाफा वृद्धिदर पनि ६४.४४ प्रतिशत देखिन्छ ।
यता, प्राय: आफूलाई अधिकांश सूचकमा दोस्रो सूचीमा रहने ग्लोबल आइएमई बैंकले तेस्रो स्थानमा पुगेको छ । गत वर्ष बैंकको नाफामा सामान्य १.१० प्रतिशत मात्रै वृद्धि भएको छ ।ग्लोबलले गत वर्ष ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एनआइएमबि र ग्लोबल आइएमई बैंकबीच दोस्रो पोजिनमा निकै कडा प्रतिस्पर्धा देखिन्छ ।
ठुलो बदलावपछि प्रभू बैंक पनि आफूलाई नाफामा अब्बल कहलाएको छ । बैंक नाफाकै आधारमा अहिले चौंथो पोजिशनमा आइपुगेको छ । गत वर्ष बैंकको नाफा ९६५.४१ प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।
यता, पाँचौं स्थानमा रहेको एभरेष्ट बैंकले पनि नाफा ३२.८१ प्रतिशत बढाएर ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । हेरक वित्तीय सूचकमा एभरेष्ट बैंक अब्बल मानिन्छ । खराब कर्जा नियन्त्रण, लाभांश क्षमता लगायतका आधारमा हेर्ने हो भने एभरेष्ट निकै मजबुत देखिन्छ ।
रकमको आधारमा भने कृषि विकास बैंक छैंटौं स्थानमा छ । बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । स बैंक छैंटौं स्थानमा छ ।
गत वर्ष कुमारी, नेपाल बैंक र प्रभू बैंकको नाफामा अप्रत्याशित उछाल आएको छ । वृद्धिदरका आधारमा हेर्ने हो भने कुमारी बैंक पहिलो सूचीमा छ । बैंकको नाफा ४५९ गुणा बढेर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । यता, नेपाल बैंकको नाफा १३३ गुणा बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
वृद्धिदरकै आधारमा भने माछापुच्छ्रे बैंक चौंथो सूचीमा छ । बैंकको नाफा ९२.४५ प्रतिशत बढेर २ अर्ब १ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३ प्रतिशत, एनएमबिको ४६.२२ प्रतिशत, कृषि विकासको ४३.३८ प्रतिशत, लक्ष्मी सनराइजको ४०.९७ प्रतिशत, हिमालयनको २२.१५ प्रतिशत, प्राइमको १४.७२ प्रतिशत, सिद्धार्थको १०.२४ प्रतिशत र सानिमा बैंकको ७.२५ प्रतिशत वृद्धि भएको छ।
गत आवमा बैंकहरुको नाफामा चमत्कारिक फेरबदल भए पनि एनआइसी एशियासहित चार बैंकको नाफा भने घटेको छ ।
गत वर्ष एनआइसी एशियाको नाफा ८५.५२ प्रतिशत घटेर १६ करोड कायम भएको छ । यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ९.८६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ७.५१ प्रतिशत र सिटिजन्स बैंकको २.०८ प्रतिशत घटेको छ ।
कसले कति कमाए ?














