हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ५३ करोड नाघ्यो, आम्दानीमा उच्च वृद्धि, ईपिएस कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो।
गत आवमा कम्पनीले ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ५० करोड २४ लाख ६३ हजार रुपैयाँ रहेको थियो। यो नाफा अघिल्लो आवको तुलनामा ५.९५ प्रतिशतले वृद्धि भएको हो।
यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जनमा समेत उल्लेखनीय वृद्धि देखिएको छ। यस अविधमा कम्पनीकाे खुद बीमा शुल्क आर्जन ५७.८८ प्रतिशतले बढेर २ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लाे आवमा कम्पनीले १ अर्ब २८ कराेड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ थियो।
यस अवधीमा कम्पनीको कुल आम्दानी ७.३६ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कुल खर्च पनि २०.०७ प्रतिशतले वृद्धि भई १ अर्ब ९४ करोड ८ लाख रुपैयाँ पुगेको छ।
यता लगानी तथा ऋणबाट आम्दानी भने घटेको छ। अघिल्लो आवमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको थियो भने यो आवमा घटेर २१ करोड ६२ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.२९ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ। कम्पनीले महाविपत्ति कोषमा ८ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड ३५ लाख रुपैयाँ राखेको छ।













