एकै वर्ष २२७ अर्ब नाघ्यो बीमा व्यवसायको आकार, के बीमा क्षेत्र बन्दैछ अर्थतन्त्रको नयाँ इन्जिन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एकै वर्ष २२७ अर्ब नाघ्यो बीमा व्यवसायको आकार, के बीमा क्षेत्र बन्दैछ अर्थतन्त्रको नयाँ इन्जिन ?



काठमाडौं । आर्थिक चाप, मन्दीको छाँया र अस्थिरताबीच समग्र अर्थतन्त्रले सुस्त लयमा यात्रा गरिरहेको छ । यस्तो बेला बीमा क्षेत्रले भने फरक गतिमा आफूलाई स्थापित गरिरहेको छ ।

जोखिमको व्यवस्थापनलाई भरपर्दो माध्यम बनाउँदै नेपाली बीमा क्षेत्रले भने सकरात्मक गति दिएको छ । बीमा क्षेत्रले व्यवसाय मात्र होइन्, जनसांख्यिक पहुँच, रोजगारी र व्यवसाय विस्तारको दृष्टिले पनि महत्त्वपूर्ण फड्को मारेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको गत आर्थिक वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । जीवन र निर्जीवन दुबै बीमा कम्पनीहरुले व्यापारको परिधि मात्र फराकिलो बनाएका छैनन्, जनविश्वास जित्ने आधारसमेत थप बलियो भएको देखिन्छ ।

बीमाको पहुँच आधा जनसंख्याको ढोकासम्म पुगेको छ । कम्पनीहरुले करिब तीन हजार शाखाहरुबाट सेवा प्रवाह गरिरहेका छन् । बीमा केवल भविष्यको सुरक्षा ग्यारेन्टी होइन, अर्थतन्त्रको एक सशक्त इञ्जिन बन्दै अगाडि बढिरहेको संकेत देखिएको छ ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले एक वर्षमा २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १४.७६ प्रतिशत बढी हो । अघिल्लो वर्षमा कम्पनीहरुले १ खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन बीमा र ७ वटा लघुबीमा कम्पनीहरु संचालनमा छन् ।

अघिल्ला केही वर्षहरुमा बीमा व्यवसाय विस्तार कमजोर थियो । आर्थिक शिथिलता लगायतका कारण व्यवसाय वृद्धिदर न्यून थियो । तर, पछिल्लो समय भने आर्थिक गतिविधि बढ्न थालेसँगै बीमा व्यवसाय पनि दोहोरो अंकमा बढ्न पुगेको हो ।

व्यवसाय बढाउन तातिएका जीवन बीमा कम्पनी

प्राधिकरणका अनुसार व्यवसाय बढाउन जीवन बीमा कम्पनीहरु निकै तातिएको देखिन्छ । उनीहरु विशेष गरि नयाँ व्यवसाय वृद्धिमा नै आक्रामक देखिन्छन् । गत वर्ष जीवन बीमा व्यवसाय १६.४७ प्रतिशत वृद्धि भएको छ ।

गत वर्ष कम्पनीहरुले कुल १ खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका छन् । जबकि, अघिल्लो वर्ष १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ रहेको थियो । एक वर्षमै कम्पनीहरुले कुल व्यवसायको आकार २५ अर्ब ७७ करोड २० लाख रुपैयाँले बढाएका छन् ।

कम्पनीहरुको नयाँ व्यवसाय उच्च दरमा बढेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २८.९५ प्रतिशत वृद्धि भई ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो बीमा शुल्क ३४ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

यता, नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि दोहोरो अंकमा बढेको छ । अघिल्लो वर्ष कम्पनीहरुले यस्तो बीमा शुल्क १ खर्ब २१ अर्ब ९८ करोड २३ लाख रुपैयाँ उठाएका थिए । तर, गत वर्ष आइपुग्दा भने १२.९३ प्रतिशत बढाएर १ खर्ब ३७ अर्ब ७६ करोड ३ लाख रुपैयाँ कायम गरेका छन् ।

प्राधिकरणका अनुसार सक्रिय जीवन बीमालेखको संख्या पनि १२.६० प्रतिशत बढेर १ करोड ५६ लाख ३० हजार ९९९ पुगेको छ । जबकि, गत वर्षको असार मसान्तसम्ममा यस्तो संख्या १ करोड ३८ लाख ८१ हजार ४९२ वटा रहेको थियो । यस्तै, कुल जारी बीमालेखको संख्या पनि ७.०४ प्रतिशत बढेर ७० लाख ४६ हजार ५८० पुगेको छ ।

८.३१ प्रतिशत बढ्यो निर्जीवन बीमा व्यावसाय, साढे ३२ लाख बीमालेख बिक्री

निर्जीवन बीमा व्यवसाय पनि एक वर्षमा झन्डै साढे ८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, गत वर्ष आइपुग्दा भने ८.३१ प्रतिशत वृद्धि भएको देखिन्छ ।

गत वर्ष कम्पनीहरुले ४४ अर्ब ९१ करोड २६ लाख रुपैयाँ बराबरको व्यसाय भित्र्याएका छन् । एक वर्षमा निर्जीवन बीमा व्यवसायको आधार थप ३ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ बढेको हो ।

कम्पनीहरुको बीमालेख बिक्री पनि दोहोरो अंकमा बढेको छ । गत वर्ष कम्पनीहरुले कुल ३२ लाख ४४ हजार ३८३ वटा बीमालेख बेचेका छन् । यो अघिल्लो वर्षको तुलनामा ११.८१ प्रतिशत बढी हो । अघिल्लो वष पनि कम्पनीहरुले २९ लाख १ हजार ६४० वटा बीमालेख बिक्री गरेका थिए ।

बीमाको दायरा पनि बढ्दै, ४८.३३ प्रतिशत जनसंख्यामा पुग्यो पहुँच

बीमा व्यवसायसँगै दायरा पनि बढ्दै गएको छ । हाल कुल जनसंख्याको ४८.३३ प्रतिशतमा बीमाको पहुँच पुगेको छ ।

प्राधिकरणका अनुसार २०७८ सालको जनगणनाको प्रतिवेदनमा उल्लेख भएको जनसंख्याको आधारमा प्रक्षेपण गरि बीमाको दायार गणना गरिएको हो ।

एकै वर्ष थप ५.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच वृद्धि भएको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षको असार मसान्तसम्म कुल ४३.२७ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । यो म्यादि, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको आँकडा हो । बीमाको दायरामा आएको जनसंख्या (म्यादि, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक)को प्रतिशत भने १७.७० प्रतिशत छ ।

बीमा क्षेत्रले बढाउँदै रोजगारी, एर्क वर्ष बीमा कम्पनीले जोडिए ५६६ कर्मचारी

बीमा क्षेत्रले रोजगारी पनि उत्तिकै रुपमा बढाएको देखिन्छ । एकै वर्ष थप ५६६ जना कर्मचारी आवद्ध भएका छन् ।

हाल बीमा कम्पनीहरुमा १२ हजार २५१ जना कर्मचारी आवद्ध छन् । यो अघिल्लो वर्षको तुलनामा ४.८४ प्रतिशत धेरै हो । जबकी, अघिल्लो वर्षसम्म ११ हजार ६८५ जना आवद्ध थिए ।

प्राधिकरणका अनुसार हाल निर्जीवन बीमा कम्पनीमा ६ हजार १३८ जना कर्मचारी छन् । यो अघिल्लो वर्षको तुलनामा ५.३४ प्रतिशत धेरै हो । यता, जीवन बीमा कम्पनीमा आवद्ध हुने कर्मचारीको संख्या पनि ४.३५ प्रतिशत बढेर ६ हजार ११३ पुगेको छ ।

हाल बीमा कम्पनीहरुले देशभरका २ हजार ९९४ वटा कार्यालय आफ्ना व्यवसायसँगै सेवा प्रदान गर्दै आएका छन् । जीवन बीमा कम्पनीका देशभर १ हजार ८३९ वटा र निर्जीवन बीमाको १ हजार १५५ वटा कार्यालय छन् ।


प्रतिक्रिया दिनुहोस्