३५ अर्बको बीमा नविकरणविहीन : १५ अर्बको सरेन्डर, किन दोहोरिँदैछ यस्तो समस्या ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३५ अर्बको बीमा नविकरणविहीन : १५ अर्बको सरेन्डर, किन दोहोरिँदैछ यस्तो समस्या ?



काठमाडौं । साढे १२ लाख बीमितले ३५ अर्ब बढीको बीमालेख नविकरण गरेका छैनन् । बीमालेख नविकरण नगर्ने प्रवृत्ति बढ्दो नै देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को गत असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष व्यतित बीमालेख रकम २.८८ प्रतिशत वृद्धि भएको छ । गत वर्ष १२ लाख ४३ हजार ३६५ बीमितले बीमालेख नविकरण नगरेको पाइएको हो । प्राधिकरणका अनुसार ३५ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको बीमालेख नविकरण भएको छैन् ।

अघिल्लो वर्ष पनि व्यतित बीमालेखको रकम ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यस्तो रकमको आकार एक वर्षमा ९८ करोड रुपैयाँ बढेको हो । यस्तो बीमालेखको संख्या भने ८७.३४ प्रतिशत बढेर १२ लाख ४३ हजार ३६५ पुगेको छ । जबकि, अघिल्लो वर्ष ११ लाख ५८ हजार २९९ रहेको थियो ।

बीमा अभिकर्ताहरूको निष्क्रियता, बीमितसँगको नियमित सम्पर्कको अभाव र बीमा योजनाको अपुरो जानकारीले पनि व्यतित बीमालेख दर बढ्दो देखिन्छ । विज्ञका अनुसार आर्थिक कठिनाइ, सरेन्डरबारे अपर्याप्त जानकारी र बीमितको आफ्नै वित्तीय योजना कमजोर हुनाले पनि बीमालेख नविकरण हुने गरेको छैन ।

धेरैजसो जीवन बीमा योजनाहरू ५ देखि १५ वर्ष अवधिका हुने भएपनि बीमितले प्रत्येक वर्ष बीमाशुल्क बुझाउनुपर्ने हुन्छ । तर, समयमा शुल्क नबुझाएमा बीमालेख ‘व्यतित’ हुन्छ । बीमा सुरक्षा पनि स्वतः अन्त्य हुन्छ । यद्यपि, पछि बक्यौता शुल्क बुझाएर पुनः नवीकरण गर्न सकिने सुविधा पनि उपलब्ध छ ।

अवधि नसकिँदै बीमा सरेन्डर गर्ने प्रवृत्तिमा पनि उल्लेख्य वृद्धि, १५ अर्ब १५ करोडको सरेन्डर

बीमालेख नविकरण नगर्ने मात्र होइन, अवधि नसकिँदै बीमा सरेन्डर (परित्याग) गर्ने प्रवृत्तिमा पनि उल्लेख्य वृद्धि भएको छ ।

निश्चित अवधिका लागि भनेर जीवन बीमालेख खरिद गरेपछि उक्त अवधि नसकिँदै ठुलो संख्यामा बीमितले सरेन्डर गर्ने गरेका छन् ।

प्राधिकरणका अनुसार गत वर्ष मात्रै १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.६० प्रतिशत बढी हो ।

अघिल्लो वर्ष पनि १३ अर्ब ५७ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको सरेन्डर भएको थियो । यद्यपि, सरेन्डर हुने बीमालेखको संख्या भने केही घटेको देखिन्छ । अघिल्लो वर्ष १ लाख ११ हजार ३३६ बीमालेख सरेन्डर भएको थियो । तर, गत वर्ष यस्तो संख्या १ लाख ८ हजार २३८ मा झरेको छ ।

हाल बीमितले न्यूनतम तीन वर्षपछि मात्रै बीमालेख (पोलिसी) सरेन्डर गर्न पाउँछन् । सरेन्डरलाई नियमित प्रक्रिया मानिन्छ । बीमितले पोलिसी बन्द गरी आफुले तिरेको बीमाशुल्क र सो अवधिसम्मको बोनस रकम एकमुष्ठ फिर्ता पाउँछन्, रकम भुक्तानी भएपछि मात्र पोलिसी पूर्ण रूपमा बन्द हुने व्यवस्था छ ।

किन बढ्दैछ यस्तो प्रवृत्ति ?

बीमा सरेन्डर र नविकरण नगर्ने प्रवृत्तिको पछाडि विभिन्न कारणहरू रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार धेरैजसो बीमितहरूले आर्थिक समस्याका कारण आफ्नो बीमालेख निरन्तरता सक्दैनन् । अर्कोतर्फ, बीमा योजना छान्दा आवश्यक जानकारीको अभावमा अनुचित योजना छनोट गर्ने प्रवृत्ति रहेको बताइन्छ ।

बीमितहरूले आफ्नो वित्तीय हैसियतभन्दा बाहिरको बीमा योजना लिँदा पनि यस्तो समस्या हुने गरेको पाइनछ । यता, बीमा अभिकर्ताहरूले पनि कमिसनको लोभमा परेर योजनाको पूरा जानकारी नदिई बीमा गराउने प्रवृत्तिले पनि सरेन्डर दर बढ्न टेवा पुर्याएको बताइन्छ ।

यसका लागि अभिकर्ताले बीमितलाई योजना राम्ररी बुझाई बीमा गराउनुपर्ने प्राधिकरणको सुझाव छ । बीमा योजनाको छनोट गर्दा बीमितले आफ्नो वास्तविक आवश्यकता, आर्थिक हैसियत र दीर्घकालीन लक्ष्यलाई ध्यानमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

यसका साथै बीमा अभिकर्ताले पनि जिम्मेवारीपूर्वक ग्राहकलाई योजना बारे स्पष्ट जानकारी गराउन आवश्यक हुन्छ । बीमा सम्बन्धी निर्णय जानकारी र आवश्यकता आधारित हुन सकेमा मात्र बीमालेख सरेन्डर र नविकरण नहुने दर घटाउन सकिने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्