कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना-मझौला उद्यम विकासमा सहकार्यको सम्झौता
काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसएमइजको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यवसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरिएका छन् ।
ब्रिज इन्टरनेशनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पु¥याउने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवद्र्धन गर्ने, व्यवसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ ।
दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदान मार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।













