कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योगसरह, सेवा-सुविधामा उत्साह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा–सुविधाले उत्साहित बनेको बताए ।
विहीबार मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
बजेटीय सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेका आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
सोही अवसरमा मन्त्री पाण्डेले आफूलाई शासक नभई सहजकर्ताको रूपमा प्रस्तुत गर्नेमा सचेत रहेको बताए । उनले भने,‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु। मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ–सहयोगले मात्रै परिणाम आउँछ ।’
मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढे मात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलब्धि निकाल्न सकिने विश्वास व्यक्त गरे । उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने बताए ।
त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२–८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन दिए ।
गत वर्ष जर्मनीको बर्लिनमा ‘वर्षको उत्कृष्ट पर्यटन मन्त्री” सम्मान पाएको, सांस्कृतिक संस्थान नाफामा पुगेको तथा छोटो अवधिमा मन्त्रालयले नीतिगत सुधार अघि बढाएको उपलब्धि स्मरण गर्दै उनले भने,‘हाम्रो स्वार्थ देश र जनताको हित मात्र हो। अहिले ७७ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनसहित चौथो स्थानमा छौं, अब पहिलो बन्ने गरी अघि बढ्नुपर्छ ।













